नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गरिएको छ ।
प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने क्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधपुछ गरेका थिए । त्यसक्रममा सन्दीपले आफू निर्दोष रहेको कुरा बताएको उनका अधिवक्ता सरोज घिमिरेले जानकारी दिए ।
सन्दीपले न्यायाधीशसामू युवतीले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको कुरा बताएका थिए । साथै यसक्रममा युवतीको दुईवटा जन्मदर्ता भएको दाबी गरिएको छ ।
अदालतले २० गतेबाट गणना हुने गरि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ‘नेपाल प्रहरीले अदालतमा प्रश्तुत गर्नुभयो । सन्दीप लामिछानेले इजलाशमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रश्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो । यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो । २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।’ अधिवक्ता घिमिरेले भने ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो । दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो ।































प्रतिक्रिया