लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जनालाई पहिरोमा परी बेपत्ता भएका छन् ।
मलामी गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार ५३ जनामध्ये अरू भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पुर्याएको अनुमान गरिएको छ ।
बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजङ्ग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।
यसअघि १५ मलामी बेपत्ता भएको खबर आएको थियो तर, २ जना भने अहिले सम्पर्कमा आएका छन् । पहिरोमा परेका टेकराज शाही र अबराज शाही सुरक्षित स्थानमा आएका हुन् ।
अहिले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पाँच दिनको वर्षाले कालिकोटमा ठूलो क्षति भएको प्रजिअ शर्माले बताए । आइतबार तिलागुफा नगरपालिका–५ मा पहिरोमा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।































प्रतिक्रिया