बीस दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा

बीस दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा


पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी  जनशक्ति खटिएको बताए। नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए । 

“अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ”, प्रमुख श्रेष्ठले भने । कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए । 

राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो । राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् ।

Logo