किशोरीहरूको क्षमता अभिवृद्धि गर्दै वर्ल्डलिंक

किशोरीहरूको क्षमता अभिवृद्धि गर्दै वर्ल्डलिंक


इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।  साे जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा -११ स्थित जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएकाे कम्पनीले जनाएकाे छ । 

कार्यक्रममा सरसफाई, यौन तथा प्रजनन् स्वास्थ्य, हिंसा तथा लैङ्गिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षा जस्ता विषय समेटिएको थियो ।

वर्ल्डलिङ्कले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वलाई दिगो विकासका चार ओटा लक्ष्यमा केन्द्रित गर्न थालेको छ । जसमध्ये लैङ्गिक समानता एउटा हो । निर्धारित दिगो विकास लक्ष्यभित्र रहेर परियोजना तय गर्ने क्रममा वर्ल्डलिङ्कले जनसेवा माध्यामिक विद्यालयबाट सुझाव मागेको थियो । जसमा विद्यालयले व्यवसायिक सामाजिक उत्तरदायित्वको कार्यक्रममा माथिल्ला कक्षामा अध्ययनरत आफ्ना छात्राहरूको सशक्तिकरण समावेश गर्न आग्रह गरेको थियो ।

आवश्यकता मूल्याङ्कनका क्रममा वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले उक्त क्षेत्रमा बाल विवाहको मुख्य समस्या रहेको पहिचान गरेको थियो । त्यसका साथै घर आँगनको स्वच्छतामा समेत मुख्य भूमिका रहने भएकाले छात्राहरूमा सरसफाईको अभ्यासमा समेत सुधार ल्याउनुपर्ने वर्ल्डलिङ्कको टिमले आवश्यकता औंल्याएको छ । 

टोलिले उनीहरूमा हुने तनाव र मानसिक उतारचढावलाई समेत मध्यनजर गर्दै मानसिक स्वास्थ्यमा समेत विचार पुर्‍याउनु पर्ने आवश्यकता पहिचान गरेको थियो । अधिकांश किशोरी तथा महिलाहरू शिक्षा र जनचेतनाबाट बञ्चित हुने भएकाले उनीहरूले मानसिक स्वास्थ्यको अवधारणा समेत बुझ्न सकेका हुँदैनन् । यतिसम्म कि आफ्नो मानसिक स्वास्थ्य समस्याको विषयमा उनीहरू जानकार रहेपनि त्यस विषयमा अन्य व्यक्तिहरूसँग खुलेर कुरा गर्न र सहयोग माग्न सक्दैनन् ।

धेरैजसो किशोरीहरू घरेलु हिंसालाई सामान्य दैनिक गतिविधि ठान्ने भएकाले त्यसविरुद्ध कदम चाल्दैनन् । यी नै विषयहरूलाई मध्यनजर गर्दै वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले शिक्षा तथा जनचेतनामार्फत महिलाको सशक्तीकरण कार्यक्रमको आयोजना गरेको हो । यसले छात्राहरूमा जनचेतना अभिवृद्धि हुनुका साथै सशक्तीकरणमा शिक्षा पहिलो पाइला भएको महसुस गराउनेछ ।

‘समुदायमा विद्यमान लैङ्गिक विभेदलाई सन्तुलनको स्तरमा ल्याउन महिला सशक्तीकरण जस्ता सम्वेदनशिल कार्यक्रमको आवश्यकता एकदमै महत्त्वपूर्ण छ,’ कार्यक्रमको समापनका क्रममा वर्ल्डलिङ्कका कार्यकारी निर्देशक मनोज अग्रवालले भने,‘महिलाहरूको सशक्तीकरणका निम्ति शिक्षा पहिलो पाइला हो । यस्तोमा हाम्रो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले किशोरीहरूको शिक्षामा योगदान पुर्‍याएको छ ।’

Logo