विराटनगर ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको छ । ५४ वर्षीय शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–४ बाट विकलाई पक्राउ गरेको हो ।
चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले बताए। गत मंसिर २३ गते बर्खेका शिक्षक श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । श्रेष्ठको हत्यामा विकको सहभागिता रहेको प्रहरीको दाबी छ ।
घटनामा ६ जना सहभागी थिए । विप्लव समूहले उद्योगी व्यवसायीसँग चन्दा माग्दै धम्काएको सूचना आएको र सोही आधारमा अनुसन्धानका क्रममा एक जना पक्राउ परेको एसपी खड्काले बताए। संखुवासभाको मादी नगरपालिका–४ घर भएका ३२ वर्षीय विक विप्लव समूहको मोरङ इन्चार्ज हुन् । शिक्षक हत्या लगत्तै उनको जिम्मेवारी फेरिएको थियो ।
घटना हुँदा उनी मेची कोसी ब्युरो सदस्य थिए । पक्राउ परेका विकको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउन्ड गोली बरामद भएको छ । चारवटा मोबाइल, ११ वटा सिम कार्ड पनि बरामद भएको छ भने को २४ प ४००५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीले अन्य पाँच जनाको खोजी तीव्र बनाएको जनाएको छ ।
२३ मंसिरमा घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जंगलमा हत्या भएको थियो । हत्यापछि उनको परिवार विस्थापित भएको छ । मिक्लाजुङका विप्लव समूहको गतिविधि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यहाँ परिचालन गरिएको छ । पारिवारिक स्रोतका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको छ । यसअघि शिक्षक श्रेष्ठको घरनजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुई नेतालाई हतियारसहित पक्राउ गरेको थियो ।
प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सैन्य अभ्यास गर्ने क्षेत्रका रुपमा मानिन्छ । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया