काठमाडौं । नेपालमा बिहीबार मात्रै कोरोना भाइरस (कोभिड—१९) का कारण ५ जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमकाअनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु भएको थियो । ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षिय पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । साथै, सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको थियो । दम र उच्च रक्तचापका बिरामी उनमा निमोनियाको पनि समस्या थियो । सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमको भनाइ छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ६५ पुगेको छ ।
त्यस्तै बिहीबार नेपालमा ३ सय ६० जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै देशभर कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म देशभर ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जनाले उपचार गराइ रहेका छन् । प्रदेश नम्बर १ मा ३ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९३, वाग्मती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८०, प्रदेश नम्बर ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना संक्रमितले उपचार गराउँदै आएका छन् ।
त्यस्तैगरी बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र वाग्मती प्रदेशमा ५ सय ९१, गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ हजार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित डिस्र्चाज भएका हुन् ।
देशभरीका क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना रहेका छन । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, वाग्मती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजार ५ सय ६४, प्रदेश नम्बर ५ मा १ हजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टाइनमा रहेका छन ।
मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरेका छन् । त्यस्ता कार्यक्रम गर्नैपर्ने भएमा भर्चुअल बैठक गर्न उनको सुझाव छ । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार र स्थानीय सरकारलाई सावधानी अपनाउन उनले आग्रह समेत गरेका छन् ।
उपत्यका लगायत घनाबस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकित्सक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पु¥याउँन उनले आग्रह समेत गरेका छन् ।































प्रतिक्रिया