आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गरिन्छ।
विद्यार्थीहरु बिहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन्। ज्ञान, बुद्धि, विवेक बढोस् भनेर विद्याकी देवीको आज उपासना गरिन्छ। बालबालिकाहरुलाई आजैदेखि अक्षराम्भ गराउने चलन पनि छ। सरस्वतीको विधिपूर्वक पूजा गरेमा विद्या, वाणी र प्रशिद्धि प्राप्ती हुने आस्था रहँदै आएको छ। विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला, साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा विशेष पूजा आराधना गर्ने गर्दछन्।
देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन्। जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ। माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नाले कार्यसिद्धि मिल्ने धार्मिक विश्वास गरिन्छ। १. भारती, २. सरस्वती, ३. शारदा, ४. हंसवाहिनी, ५. जगती, ६। वागीश्वरी, ७. कुमुदी, ८. ब्रह्मचारिणी, ९. बुद्धिदात्री, १०. वरदायिनी, ११. चंद्रकाति, १२. भुवनेश्वरी।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पनि पुकार्ने गर्दछन्। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ।
यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ। आजको दिन काठमाण्डौँ उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।
सरस्वती स्त्रोत्रम्
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।
प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।
कसरी गर्ने पूजा ?
यस दिन बिहान कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शङ्ख पनि चढाइन्छ ।





























प्रतिक्रिया