काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनै पनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताए । फुटबलको विकास कसरी गर्ने भन्ने विषयमा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालको जोड छ । खेलाडीसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सहयोग गर्ने उनले बताए ।
खेलाडीको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरी रहेको भन्दै उनले त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको बताए । आगामी दशैं अगाडि विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने उनको भनाइ छ ।
त्यस्तै एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले राष्ट्रिय खेलकूद परिषद्मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास समेत व्यक्त गरे । सरकारले कम्तिमा पनि तीनदेखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायीक रुपमा अगाडि बढन सक्ने उनको भनाइ छ । लिगलाई तीन महिनाभन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारीे लगानी हुनुपर्ने उनले बताए । अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको शेर्पाको भनाइ छ ।
त्यस्तैगरी लकडाउनका कारण एन्फाले आयोजना गर्ने सबै लिग रोकिएका छन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगिताहरुमा समेत खेलाडीहरु जान पाएका छैनन् । एन्फाले आगामी भदौ १ गतेबाट खेलाडीहरुलाई बन्द प्रशिक्षण गराउने तयारी समेत गरेको छ ।































प्रतिक्रिया