सडक निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की परेपछि…

सडक निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की परेपछि…

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीयहरु आक्रोशित भएका छन् । 

बिहीवार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसहितको टोलि उक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीयहरुले वर्षौंदेखि आश्वासन मात्रै बाँडेर सडक निर्माण सम्पन्न नगरेको भन्दै मन्त्रीलाई नै घेरेर आक्रोश पोखेका हुन् । 

बिहीवार मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि थिए । अनुगमनका क्रममा मन्त्री श्रेष्ठलाई घेरेका स्थानीहरुले ९ वर्षसम्म बाटो नबनाएको र रातदिन सुत्नसमेत नदिएको आरोप लगाए । स्थानीयहरुले मन्त्री आउने भनेपछि पानी हालेर बाटोमा धुलो उड्न रोकेको भन्दै आक्रोश पोखे । 

उनीहरुले खराब बाटोकै कारण आफन्त गुमाएको भन्दै कहिलेसम्म जनतालाई गुमराहमा कहिलेसम्म राख्ने भन्दै प्रश्न गरे । उनीहरुले कालोसूचिमा राखेर कारबाही गर्नुपर्ने ठेक्का कम्पनीहरुलाई सरकारले किन पक्षपोषण गरिरहेको छ ? भन्दै प्रश्न गरेका थिए । उनीहरुले अहिले गरिरहेको ठेकेदार कम्पनीको ठेक्का रद्ध गर्न पनि माग गरेका छन् ।  
 
मन्त्रीले स्थानीयहरुको माग सम्बोधन हुने र समयमा नै अब काम सक्ने आश्वासन दिए । उनले हेलचेक्राँइ भएको तर अबका दिनमा नहुने प्रतिवद्धता जनाए । 

टोलीले कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन गरेको हो । सैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडकखण्ड ठेक्का पाएको छ । तर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । सडक निर्माणमा भएको ढिलासुस्तीका कारण जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

Logo