बदेंल मार्ने पासोमा परेर मर्छन् गाईबस्तु

बदेंल मार्ने पासोमा परेर मर्छन् गाईबस्तु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीकाे सामुदायिक वनमा वन्यजन्तुलाई मार्न थापिएका पासोमा परी गाईबस्तु मर्ने क्रम बढेको छ। 

जंगली जनावरको शिकार गर्न थापिएका विद्युतिय धराममा परेर धेरै छाडा चौपाया मर्ने गरेका छन् । 
तिलोत्तमा नगरपालिकाको करहिया सामुदायिक वन क्षेत्रभित्र विद्युतिय धरापमा परेर मृत्यु भएका दर्जनौ गाईका हाडखोर र शवहरु भेटिने गरेका छन् । दुई रुखका बीचमा मसिना तारहरु राखेर बन्यजन्तु मार्ने पासोहरु वनभरि छन् । यसैमा परेर मरेका गाईहरु सडेका छन् तर यसबारे सरोकारवालाहरु मौन छन् ।

तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समुहको फोहोर प्रशोधन तथा ज्ञान केन्द्रको सेरोफेरोमा मरेका चौपायाबाट दुर्गन्ध फैलिएको छ । खानाको खोजीमा हिडेका छाडा चौपाया वन क्षेत्रमा बदेंल मार्न प्रयोग भएको विद्युतीय धरापमा परेर मर्ने गरेको स्थानीय युवा आतिस चौधरी बताउँछन् ।

फोहोर प्रशोधन तथा ज्ञान केन्द्र वरपरको चारैतिर गाईहरु मर्दा समेत कुनै निकायहरु चासो नलिएको उनले दुखेसो गरे। ‘बन क्षेत्रभरि सिनो मात्र छ,  बन पैदावार र बन्यजन्तुको संरक्षणको जिम्मेवारी बोकेका सामुदायिक बनभित्र विद्युतीय धराप राख्नु अपराध हो ।’ यस्तो कार्यमा संलग्नको खोजी गरी कारवाही हुनुपर्ने उनी बताउँछन् । 

उक्त सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले गुनासो बढेपछि आफुहरु वन क्षेत्रमा अनुगमन गर्ने तयारीमा रहेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयको समन्वयमा वनमा हेर्न जाने तयारी रहेको उनले बताए । वनमा धेरै बदेंल रहेको र बदेंल मार्ने पासो लगाउने क्रममा गाईहरु मरेको हुनसक्ने उनले बताए ।

गौशाला बाहेक वन क्षेत्रमा ४–५ सय बढी गाईहरु रहेको उनको दाबी छ । उनले भने, ‘हामीहरु समेत संवेदनशिल भएका छौ, मिलन सामुदायिक वनमा केही समय पहिले बदेंलको धरापमा मानिसको पनि मृत्यु भएको थियो ।’ 
 

Logo