सेनाको कुटाइबाट
गत बुधबार चितवनको राप्ती नगरपालिका-२ मिलनटोलका २४ वर्षीय युवा राजकुमार चेपाङको सेनाको कुटपिटबाट मृत्यु भयो । गएको साउन १ गते राजकुमरासहित ७ जनाको समूह जंगल गएका थिए । लकडाउनका कारण बेराजगार बनेकाले परिवारका लागि खानाको जोहो गर्न भनेर माछा, घुंगी टिप्न जंगल गएका राजकुमार चेपाङ फेरि जंगल फर्कन नसक्ने गरि थलिएर आए र उनको कुटाइकै कारण बुधबार प्राण गयो ।
निकुञ्जमा असर पुर्याएको भन्दै सेनाले कुटपिट गरेको र त्यसकै असरबाट चेपाङको मृत्यु भएको परिवार स्रोतको दावी छ । राप्ती नगरपालिका-२का अध्यक्ष श्यामसुन्दर उप्रेतीका अनुसार मृतक युवालाई निकुञ्जमा खटिएको सेनाले शरीरभरि नीलडाम हुनेगरि लाठि र बुटले निर्मम ढंगबाट कुटपिट गरेको र सोही कुटाईको असरका कारण राजकुमार सिकिस्त बिरामी परेका थिए ।
तर, निकुञ्जका निशेधित क्षेत्रमा प्रवेश गरेपछि घटना घटेको भन्दै राजकुमारको परिवारले घटनालाई ढाकछोप गर्दै ‘पेनकिलर’ खाँदै दुखाई सहेर घरमै बसे । सो, क्रममा कुटाईको असर झनै बढेको र रगत नै वान्ता गरेपछि छोरा राजकुमारको प्राण बँचाउँन परिवारले भरतपुर अस्पताल पुर्याएका थिए । तर, अस्पताल लैजाँदै गर्दा बोल्न छोडेका राजकुमारलाई अस्पताल पुग्नासाथ डाक्टरहरूले मृत घोषणा गरे ।
यस्तो निर्मम घटनाबाट यतिबेला चेपाङ परिवारसहित समुदाय नै मर्माहत छ तर, सरकारी निकाय मौनः प्राय छ । घटनाबाट विक्षिप्त चेपाङ परिवार न्यायको खोजीमा छ । न्याय नपाउन्जेल अस्पतालबाट शब नबुझ्ने पक्षमा छ चेपाङ परिवार ।
अध्यक्ष उप्रेतीका अनुसार उनीहरू घटनामा संलग्न दोषिमाथि कडा कारबाही सहित उचित क्षतिपूर्तीको माग गरिरहेका छन् । माग सम्बोधन नहुन्जेल मृतक राजकुमारको शव नबुझ्ने पीडित पक्षको माग छ । जसका कारण मृत्यु भएको ५ दिन सम्ममा पनि राजकुमारको शव उठ्न सकेको छैन, पोष्टमार्टम हुन सकेको छैन ।
न्याय माग्दै चेपाङ परिवारले धेरैपटक जिल्ला प्रशासनको ढोका ढक्ढक्याको छ । अध्यक्ष उप्रेतीका अनुसार स्थानीय जनप्रतिनिधीहरूले पनि पीडित पक्षको माग पूरा गराउँन भन्दै निकुञ्ज पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ ।
तर, निकुञ्ज पक्षले हालका लागि यस्तो घटनाका लागि कुनै पनि कानुनी प्रावधान नरहेको भन्दै केही गर्न नसक्ने जवाफ दिदैँ आएको छ । घटनाको प्रकृति हेरेर, निकुञ्ज पक्षले निवृतीभरणका लागि मासिक एक हजार रुपैयाँ र यदि घर नै बनाईदिनु पर्ने अवस्था भए रु १ लाख सहयोग रकम बाहेक केही गर्न नसक्ने बताउँदै आएको छ ।
यस सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोग चितवनले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरि दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले पीडित राजकुमारको परिवारलाई उचित राहत उपलब्ध गराउन आग्रह गरेको छ। यता घटनाका सम्बन्धमा नेपाली सेना स्वयंले आन्तरिक रूपमा छानबिन सुरु गरेको छ ।
सेनाले महासेनानीको नेतृत्वमा आन्तरिक समिति गठन गरेर छानबिन अघि बढाएको हो । तर, यसको परिणाम कहिले आउने हो र चेपाङ परिवारले न्याय पाउने त्यसको भने कुनै टुंगो छैन ।































प्रतिक्रिया