सङ्खुवासभा पहिरो : ११ सम्पर्कविहीनको खोजी जारी

सङ्खुवासभा पहिरो : ११ सम्पर्कविहीनको खोजी जारी

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा ।

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिन अघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुन लगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए। आचार्यका अनुसार तीन दिन अघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

पहिरो गएको स्थल निरीक्षणका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई एक दिन अघि त्यसतर्फ गएकोमा खराब मौसमका कारण सङ्खुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्याएको क्षतिका बारेमा बुझी सबैलाई एकसाथ जुट्न आग्रह गरेर फर्किए। यसैगरी पहिरोको निरीक्षण गर्न सङ्घीय सांसद राजेन्द्रप्रसाद गौतम, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायतको टोली पुगेको थियो ।

यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानी लगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याट लगायत ५०० किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको नेपाली काँग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo