जुनार किसान काठमाडौंमा बस्दा सिन्धुलीमा उत्पादन बढ्न सकेन

जुनार किसान काठमाडौंमा बस्दा सिन्धुलीमा उत्पादन बढ्न सकेन

केन्द्रबिन्दु
0
Shares

सिन्धुली । सिन्धुलीका जुनार किसान काठमाडौंमा बस्दा जुनारको उत्पादनमा वृद्धि हुन नसकेको जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुलीले जनाएको छ । परियोजनाका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र गाउँमा जुनारको बगैँचा भएकाले हेरचाह नहुँदा उत्पादन बढाउन नसकिएको बताएका हुन् ।
अहिले सिन्धुलीमा २ हजार ५१ किसान परिवारले जुनार खेती गरेका छन् । तर त्यसमध्ये केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र बगैँचामा हेरचाह गर्न नआउँदा किराले नष्ट पारेकाले जुनारको उत्पादन बढाउन नसकिएको अधिकारीको भनाइ छ । उनले साना किसानहरुले किराका लागि प्रयोग गरिने विषादी खरिद गर्न रकम जुटाउन नसक्दा पनि उत्पादनमा वृद्धि गर्न नसकिएको अधिकारीको तर्क छ । परियोजनाले दिने सहयोग लिनका लागि पनि किसानले गर्नुपर्ने लगानी जुटाउन नसक्दा सहयोग परिचालन हुन नसकेको उनले बताए ।

सिन्धुली जुनारको सुपरजोन क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण पारियोजना अन्तर्गत जुनार सुपरजोनको रुपमा सिन्धुलीमा कार्यक्रम लागू गरिएको छ । व्यवसायिक जुनार खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गरी उद्योगसम्म जोडने उद्देश्यले जुनार सुपरजोन कार्यक्रम कार्यान्वयनमा ल्याइएको अधिकारीले बताए । यस्तै परियोजनाले जाली घर प्रविधिको प्रयोगबाट गुणस्तरीय विरुवा उत्पादन गर्ने कार्यक्रमलाई पनि अगाडि बढाएको छ । अहिले सिन्धुलीमा २०/२१ वटा नर्सरीबाट गुणस्तरीय विरुवाको उत्पादन भइराखेको छ । यस्तै जुनारमा लाग्ने किराको नियन्त्रणका लागि पनि परियोजनाले काम गरिराखेको छ । २०७०/०७१ मा यस क्षेत्रमा फल कुहाउने झिंगाले कूल उत्पादनको ६० प्रतिशत फल विगारेकोमा अहिले नियन्त्रणमा आई १५ प्रतिशतमा झरेको उनले बताए ।

उत्पादन बढाउन र जुनार खेतीको अवस्थाको जानकारी लिन जुनार किसान परिचयपत्र कार्यान्वयनमा ल्याइएको छ । परिचयपत्र वितरण गरिएपछि जुनार खेतीको समग्र अवस्थाको विवरण लिन, किसानहरुको अवस्था जानकारी पाउन सहज भएको उनको दाबी छ । पछिल्लो समय जुनारको माग नेपाली बजारमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेकाले लगानी बढाई सिन्धुली जिल्लालाई जुनार स्टेटको रुपमा विकास गर्नुपर्ने अधिकारीले सुझाव दिए । सिन्धुलीको महाभारत क्षेत्र खासगरी सुनकोसी गाउँपालिकाको वडा नं ७ मजुवा, कमलामाई नगरपालिकाको वडा नं ३ जलकन्या, तीनपाटन गाउँपालिकाको वडा नं ७ श्यामखोला र गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका क्षेत्र जुनारका लागि सुपरजोन क्षेत्र हुन् । सिन्धुलीमा वार्षिक करिब ९ हजार मेट्रिकटन जुनार उन्पादन हुँदै आएको छ ।

Logo