लम्पी स्किन रोगका कारण रामेछापको शैलुङमा ४२ वटा चौँरी मरेका छन्। दोरम्बाशैलुङ गाउँपालिकाको डडुवा र गौश्वाराको जंगलमा रहेका चौँरी गोठका अधिकांश चौँरी मरेको राष्ट्रिय याकतथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले बताए।
जंगलमा रहेको चौरी गोठमा समेत लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको कारण अधिकांश चौँरी बिरामी परेको शेर्पाले बताए। बिरामी मध्ये ४२ वटा चौँरी मरिसकेका उनको भनाइ छ। शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन्। तीमध्ये १४ वटा रामेछापका किसानका छनभने एउटा गोठ दोलखाका किसानको छ। ती गोठमा करिब ५ सय चौँरी रहेका शेर्पाले बताए।
मुख्य दूध दिने सिजनमा चौँरी बिरामी परेर धमाधम मर्न लागेपछि चौरीपालक किसानहरू चिन्तित भएका छन्। रोग लागेपछि दूध सुक्ने भएका कारण यस वर्ष किसानहरूको आम्दानी चौपट भएको शेर्पाको भनाइ छ। उनले भने,‘रोगलागेपछि दूध ठप्पै हुँदो रहेछ,मर्ने त मरिसके, बाँचेका चौँरीको पनि दूध सुक्दा किसानले ठूलो क्षति व्यहोर्नु परेको छ’।
चौँरी बिरामी पर्दा किसानले प्राविधिक र औषधि पाएका छैनन्। गाउँपालिकामा पटक पटक अनुरोध गर्दा पनि समयमा नै खोप नलाइदिएको कारण किसानले क्षति बेहोर्नु परेको शेर्पाले बताए। एउटै गोठमा पालेका पाँच वटासम्म चौँरी मरेका शेर्पाको भनाइ छ।
शैलुङका फूर्वा तामाङको गोठमा पालेका पाँच वटा चौँरी मरेको उनले जानकारी दिए। एउटा चौँरीको मूल्य एक लाख रुपैयाँसम्म पर्दछ। लम्पी स्किन रोगका कारण रामेछापमा झण्डै ७ सय पशु मरिसकेका छन्। जिल्लामा ३० हजार बढी पशु रोगबाट सङ्क्रमित छन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीको सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापाका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा पशुमा सङ्क्रमण फैलिएको छ।





























प्रतिक्रिया