माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाई सम्मानित

माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाई सम्मानित

केन्द्रबिन्दु
0
Shares

संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाई मुक्तु शेर्पा, निङ्मा दोर्ची शेर्पा,पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदर पत्र र खादा ओडाएर सम्मान गरेको हो।

उनीहरु चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाईको माउन्ट केटुको सफल आरोहण गरेर नेपालबाट मात्र होइन विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमान बनाएका थिए।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किरातीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु पुन चिनाएको भन्दै प्रसंशा सहित बधाई दिए। 

उनले भने,‘एकै घरपरिवारको चार जना दाजुभाई संसारको दोस्रो अग्लो अप्ठ्यारो  हिमाल पनि भन्छन् (माउण्ट केटु) त्यो चढेर आउनुभयो। तपाईंहरुले यो देशको इज्जत फेरि राखि दिनुभयो। संसारमा फेरि नेपाललाई चिनाइदिनु/ब्युझाइदिनु भएको छ,तपाइँहरुलाई धेरै धेरै धन्यवाद र बधाई।’

कार्यक्रममा आरोहीको प्रतिनिधिको रुपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहणपछि नेपाल आउँदा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरे। तर, उनले आज राज्यले सम्मान गरेकोमा खुसी व्यक्त गरे। 

‘हामीले जतिखेर यो विश्वरेकर्ड बनाएर एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात जना आएका थियौँ। हामी सातजना विमानस्थलबाट बाहिर निस्किदा विश्वको यो नै पहिलो रेकर्ड रहेछ। एकै देशको सात जनाले एकैपटक आरोहण गरेर विश्व रेकर्ड बनाएको पहिलो रहेछ। सातै जना वल्र्ड रेकर्ड बनाएर विमानस्थलबाट बाहिर आउँदा खेरि सरकारको कोहीपनि देखा परेनन्। यो सरकारको कमजोरी भन्नपर्ला।आज खुसी लागेको छ,’आङदावाले भने। 

मन्त्री किरातीले आफू आरोहीलाई विमास्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानून बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए।

‘यस्तो खालको कीर्तिमानी गर्ने आरोहीहरुलाई राज्यको तर्फबाट हामी के गर्न सक्छौँ छलफल गर्दैछौँ। यो सम्मान गर्ने विषयलाई कानूनमै व्यवस्थित गर्न पाए म भइन्जेल गर्ने अनि अर्को आएपछि नगर्ने हुन्छ । कानूनमै व्यवस्था गर्दिएपछि त जो आएपनि गर्नुपर्ने हुन्छ। त्यसकारण कानूनबाट नै यो कुरा स्थापित गर्दिन पाए राम्रो हुन्थ्यो भनेर हामी लागेका छौँ,’ किरातीले भने। 

Logo