तीनकुने सामूहिक हत्या प्रकरणः छानबिन गर्न ५ सदस्यीय समिति गठन

तीनकुने सामूहिक हत्या प्रकरणः छानबिन गर्न ५ सदस्यीय समिति गठन

केन्द्रबिन्दु
0
Shares

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । 

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन् । 

तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको थियो । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो ।

सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हाे ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ। राई मृतक नविनका साथी रहेको प्रारम्भिकरुपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन्। आज बिहान थप ३ जना पनि पक्राउ परेका छन् । 

वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन । प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ । हत्याको यकिन कारण अझै पत्ता लाग्न सकेको छैन।

Logo