शैलुङमा चौँरीसँग जङ्गली बसाई कार्यक्रम हुँदै

शैलुङमा चौँरीसँग जङ्गली बसाई कार्यक्रम हुँदै

केन्द्रबिन्दु
0
Shares

रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा यस वर्ष चौँरीसँग जङ्गली बसाई कार्यक्रम हुने भएको छ । 

याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन हुन लागिएको शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिका दावासङ्बु शेर्पाले जानकारी दिए । सो कार्यक्रममा २ सय बढी पाहुनाहरू शैलुङ आउने उनले जानकारी दिए । पाहुनाहरू तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा चौँरीसँगै बस्ने र रमाउने छन् ।   

कार्यक्रमको आयोजना स्पार्क एडभेन्चर काठमडौंले गर्न लागेको हो । कार्यक्रमको  सहजीकरणमा शैलुङ खोलाखर्क चौँरीपालक कृषक समूह दोरम्बा शैलुङले र व्यवस्थापनको काम शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्धन समितिले गर्ने भएको छ । कार्यक्रमलाई दोरम्बा शैलुङ गाउँपालिकाले पनि सहयोग गर्ने भएको छ । 

कार्यक्रमअनुसार असोज ११ गते पाहुनाहरू शैलुङ पुग्ने छन् । १२ गते परिचायत्माक एवं घुमफिर र  मनोरञ्जन कार्यक्रम हुने छ । १३ गते कार्यक्रम समापन गरी पाहुनालाई बिदाइ गरिने शेर्पाले जानकारी दिए । 

चौँरीसँग जङ्गली बसाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीका अफिसर, डाक्टर, पाइलट, इन्जिनिर्यस, प्रोफेसर, स्पोर्टम्यान, डिप्लोम्याटस्, कर्पोरेट, इन्टरप्रिनस, मिडिया प्रस्नालिटी, म्युजिशियन, लेखक, व्युरोक्राट्स, एक्टर्स, लगायतको सहभागिता हुने शेर्पाले जानकारी दिए । 

कार्यक्रममा सहभागी हुने केही विशिष्ट व्यक्तिहरूको नाम तयार भइसकेको र अन्य सहभागी हुन चाहनेले नाम टिपाउने क्रम जारी रहेको शेर्पाले बताए । उनीहरूको आगमनले शैलुङको थप प्रचार हुने र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने शेर्पाले बताए ।  रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ । धार्मिक हिसाबले पनि सो ठाउँलाई पवित्र भूमि मानिन्छ । शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थलको रूपमा रहेको छ । 

Logo