विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ। विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो।

विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन्। उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन्।

विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ-५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिए। विद्युत् विस्तारसँगै स-साना घरेलु उद्योगसँगै मिल सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ।

“विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपिएको छ”, उनले भने, “विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्नलाई पाँच-छ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो। कहिले त दिन नै बित्थ्यो। विद्युत् विस्तार भएपछि टोल-लमा मिल सञ्चालन भइरहेका छन्।”

विद्युत् विस्तार भएपछि विदेशबाट आएर मिल स्थापना गरेर व्यवसाय गर्दै आएको टेम्केमैयुङ-५ मझौलेका स्थानीय एकराज विष्टले बताए। गाउँमा सञ्चालन गरिरहेको मिलमा कुटानी, पिसानीको काम गर्दै आएको उनको भनाइ छ। मिलबाट आफूसमेत स्वरोजगार बनेको उनले बताए।

“लामो समय विदेशमा बसेँ”, उनले भने, “अहिले गाउँमा फर्केर विद्युतीय मिल लगाएको छु। यसले स्थानीयलाई कुटानी-पिसानीका लागि सहजता छ । मिलबाट आफू स्वरोजगार बनेको छु। घर खर्च चलाउने आम्दानी पनि हुन्छ।”

ठूलो भूगोलसँगै भौगोलिकरूपमा विकट रहेको यो गाउँपालिकाको सबै क्षेत्रमा तीन वर्षअघिबाट विद्युत् बलेको हो। एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जनता विद्युत्को पहुँचमा छन्। 

यहाँका नौवटै वडाहरुमा विद्युत् सेवा विस्तार गरिएको छ । गाउँपालिकाले यस क्षेत्रका दुर्गम स्थानका रूपमा चिनिएको वडा नं ४ नागीको लुङ्गिन बस्तीमा समेत विद्युत् बलेको छ। जङ्गलको बीचमा रहेको यो बस्तीका मानिस नेट, इन्टरनेटमार्फत सूचनाको पहुँचमा रहेका छन्। 

वडा नं ४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले आफ्नो ठाउँमा विद्युत् आएपछि दैनिकी सहज बनेको बताए। “दुर्गम क्षेत्रमा पर्ने हाम्रो गाउँमा झलमल्ल विद्युत् बलेको छ”, उनले भने, “अहिले जीवनयापनका लागि सहज छ। अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ।”

विद्युत् विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीमा सूचनाको पहुँचसँगै जीवनयापनमा समेत परिवर्तन आएको स्थानीय नवीन राईले बताए । विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको उनको भनाइ छ। 

“विद्युत् विकासको एउटा सूचक पनि हो”, उनले भने, “अहिले हाम्रोजस्तो ठाउँमा इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ। हामीलाई सूचनाको पहुँचमा जोडिन सहज छ। बालबालिकाले विद्युत्को उज्यालोमा पठनपाठन गर्न पाएका छन्।”

 यो गाउँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य स्थानमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने हुन्छ। “भौगोलिक हिसाबले यो निकै दुर्गम छ”, उनले भने, “हामी चार पुस्तादेखि यहाँ बसोबास गरिरहेका छौँ। यो ठाउँमा राज्यको आँखा पर्न सकेको थिएन। अहिले विकासको अनुभूति गर्न पाएका छौँ।” 

वर्षौँदेखि अँध्यारोमा बस्दै आएका वडा नं २ छिनामखुको रुमला पञ्छीका स्थानीयवासीले पनि विद्युत् उपभोग गरिरहेका छन्। उनीहरूले विद्युत् आएपछि विद्युतीय मिलको सहायताले कुटानी पिसानी गरिरहेका छन्। विभिन्न फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको स्थानीय फुर्तेन्जी शेर्पाले बताए।

विद्युत् विस्तारको काम पूरा भएकाले अब यहाँको अन्य भौतिक विकासका क्षेत्रमा काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। सडक विस्तारसँगै गाउँपालिकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ।

“हाम्रो गाउँपालिकामा पूर्णरूपमा विद्युतीकरण भइसकेको छ”, उपाध्यक्ष राईले भनिन्, “हामीले अब यहाँका अन्य क्षेत्रको विकासमा योजनाबद्धरूपमा काम गरिरहेका छौँ। टेम्केमैयुङलाई समृद्ध बनाउने हाम्रो लक्ष्य छ।” टेम्केमैयुङलाई २०७७ सालको कात्तिक महिनामा उज्यालो गाउँपालिका घोषणा गरिएको हो।

Logo