हेडसरको बारी, केराको घारी

हेडसरको बारी, केराको घारी

केन्द्रबिन्दु
0
Shares

खाँडादेवी गाउँपालिकाका रामबहादुर श्रेष्ठ पेसाले शिक्षक हुन्। उनले प्रगतिशील माध्यमिक विद्यालय भीरपानीको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्।

विद्यालयमा पठन पाठनमा ध्यान दिएर मात्र पुग्दैन, प्रशासनिक काम पनि गर्नुपर्छ। ती सबै काम गरेपछि बचेको समयलाई श्रेष्ठले कृषि कर्ममा लगाएका छन्। 

त्यसैले ‘रामबहादुर सर’ को परिचय अब हेडसरमा मात्र सीमित रहेन। उनी व्यावसायिक कृषकका रूपमा पनि स्थापित भएका छन्। व्यावसायिक केरा खेती गर्ने हेडसरको बारी अहिले केराको घारी भएको छ। 

श्रेष्ठले खाँडादेवी गाउँपालिका–३ स्थित आफ्नो जग्गामा व्यावसायिक रूपमा केरा खेती लगाएका छन्। करिब सात रोपनी जमिनमा स्थानीय जातको केरा लगाएको श्रेष्ठले बताए। 

रोग, किरा कम लाग्ने भएकोले स्थानीय जातको केरा लगाएको उनले जानकारी दिए। ‘सात रोपनी जमिनमा ५ सय बोट जति स्थानीय जानको केरा छ, मर्चमने, झप्री लगायतका जातका केरा छन्’,श्रेष्ठले भने। 

यसअघि पनि उनको बारीका कान्लामा अलिअलि केराका बोट थिए। तर गत वर्ष घरमाथि पहिरो चल्ने जस्तो भएपछि उनले जग्गा सम्याए र पूरै बारीमा केरा लगाए। 

‘डोजर लगाएर जग्गा सम्याएँ, अलिअलि केराका बिरुवा किनेँ, करिब ७०/७५ हजार रुपैँया खर्च भयो, अहिले केराको घारी भएको छ’,उनले भने। 

श्रेष्ठले केरामात्र लगाएका छैनन्। केरा बारीमै घुसुवा बालीको रूपमा भूइँकटहर पनि लगाएका छन्।‘यसपालि ३ सय बोट जति भूइँकटहर पनि लगाएको छु,अर्को वर्षबाट फल्छ’,उनले भने। 

श्रेष्ठले लगाएको केरा अहिले २५ घरी जति पसाएको छ। ‘घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ’,उनले भने। 

अर्को वर्षबाट भूइँकटहर पनि फल्ने र केरा पनि झाँगिने हुँदा आम्दानी पनि बढ्ने उनको विश्वास छ। कृषिबाट राम्रो आम्दानी हुने बताउँदै कुरा मात्र होइन काम नै गरेर देखाउन आफूले केरा खेती लगाएको श्रेष्ठ बताउँछन्। 

आफूले लगाएको देखेर छिमेकीहरूले पनि धेरथोर केरा खेती लगाउन लागेका उनले बताए। ‘उहाँहरूले पनि लगाउनुभएको छ, केरा बेचेरै घर खर्च चलाउने हुनुभएको छ’,उनले भने। 

स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने नारा ल्याएको बताउँदै श्रेष्ठले त्यसलाई व्यवहारमा पनि उतार्न आग्रह गरे । किसानलाई बिरुवा, औषधि, मल लगायतमा अनुदान दिने हो भने यसमा लाग्न किसान प्रोत्साहित हुने उनको भनाइ छ।

Skip This
Skip This
Logo