देवचुलीमा सामूहिक पुष्प खेती

देवचुलीमा सामूहिक पुष्प खेती

केन्द्रबिन्दु
0
Shares

बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ।

देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले भने,’युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको छ, क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य छ। 

भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उनले बताए।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उनले बताए।मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने उनको भनाइ छ।

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उनले आग्रहसमेत गरे।

अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रूपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ।

फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले बताए। फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घर खर्च चल्ने उनको अपेक्षा रहेको छ।

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताए। 

कलकतिया प्रजाति केही ढिलो फुल्ने ने गरेको र कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको उनले बताए। फूल स्वस्थ र राम्रो रहेको साथै अब सबै मिलेर बजारीकरणका लागि पहल गर्नुपर्ने उनले बताए।

Logo