म्याग्दीको मुख्य सडक पहिरोले अवरुद्ध

म्याग्दीको मुख्य सडक पहिरोले अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन्। 

बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका-४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका-६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ।

त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका-२ नैनिबगर र वडा नं ३ को गुइँठेलगायत क्षेत्रमा पहिराले सडक अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। 

उनका अनुसार वर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ। निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन।

बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ। 

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन्। 

पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ। 

Skip This
Skip This
Logo