मिथिलाञ्चलमा सुरु भयाे जितिया पर्व

मिथिलाञ्चलमा सुरु भयाे जितिया पर्व

केन्द्रबिन्दु
0
Shares

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएको हो ।

व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोली बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल रही शनिबार व्रत सम्पन्न गर्ने छन् । यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ। व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । 

व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । फेरी एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

Skip This
Skip This
Logo