सरकारले बडादशैँ, तिहार र छठ पर्वमा घर जाने यात्रु लक्षित अग्रिम टिकट बुकिङ खुला गरेको छ।
संघीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको हो।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको घुइँचो लागेको छ। यो वर्ष विगतको तुलनामा यात्रुको भीडभाडसमेत बढेको छ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता र उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भिडभाड छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दशैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्ने गरी तयारी भइरहेको बताए।
यो वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ। जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ।





























प्रतिक्रिया