इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँका क्रममा नेपालसहित अन्य १० देशका नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म १० देशका नागरिकको मृत्यु भएको छ भने करिब ८ देशका नागरिक सम्पर्कविहीन भएका छन् ।
युद्धमा परेर सबैभन्दा धेरै १२ जना थाइल्यान्डका नागरिकको मृत्यु भएको छ भने ११ जनालाई बन्धक बनाएर राखिएको छ । त्यस्तै, अमेरिकाका ११ जनाको मृत्यु भएको छ ।
नेपालका भने १० जनाको मृत्यु भएको छ भने एकजना सम्पर्कविहीन छन् । कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली कैलालीको बौनिया–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ । त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली–३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल–८ का पद्म थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।
त्यसैगरी अर्जेन्टिनाका ७ जनाको मृत्यु भएको छ भने १५ सम्पर्कविहीन बनेका छन् । युक्रेनका नागरिक २ जनाको मृत्यु भएको छ भने फ्रान्सका २ जनाको मृत्युसँगै बाँकी १४ जना सम्पर्कविहीन भएका छन् । त्यसैगरी रुसका १ मृत्यु भएको छ भने बाँकी ४ जना अहिलेसम्म सम्पर्कविहीन भएका छन् ।
त्यसैगरी क्रमशः युकेका १ मृत्यु, १ सम्पर्कविहीन , क्यानडाका १ मृत्यु, ३ सम्पर्कविहीन, कम्बोडियाका १ मृत्यु , जर्मनीका केही बन्धक, ब्राजिलका ३ सम्पर्कविहीन, चिलीका २ सम्पर्कविहीन, इटालीका २ सम्पर्कविहीन पराग्वेका २ सम्पर्कविहीन, पेरुका २ सम्पर्कविहीन, तान्जानियाका २ सम्पर्कविहीन, मेक्सिकोका २ बन्धक, कोलम्बियाका २ बन्धक, फिलिपिन्सका १ बन्धक, ६ सम्पर्कविहीन, पानामाका १ सम्पर्कविहीन, आयरल्यान्डका १ सम्पर्कविहीन भएका छन् । यो सूचीमा युद्धग्रस्त क्षेत्रका इजरायली र प्यालेस्टाइनी तर्फको तथ्याङ्क भने समावेश गरिएको छैन ।
हालसम्म इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीचको युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ११ सय कटेको बताइएकाे छ । युद्धमा चार हजारभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले हमासको आक्रमण आफ्नोतर्फ कम्तीमा सात सय जनाको मृत्यु भएको जनाएको छ । दुई हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।
यस्तै, प्यालेस्टिनी अधिकारीहरुले गाँजा क्षेत्रमा भएको प्रतिकार हमलामा ४१३ जना मारिएको स्वीकार गरेका छन् । दुई हजार तीन सय घाइते भएका छन् । हमासले गाँजा क्षेत्रमा बालबालिकासहित केहीलाई बन्दी बनाएको छ ।































प्रतिक्रिया