इजरायल आक्रमणका घाइते धनबहादुरको क्रन्दनः ‘साथीहरूको धेरै याद आउँछ, सपनामा पनि उनीहरूलाई नै देख्छु’

इजरायल आक्रमणका घाइते धनबहादुरको क्रन्दनः ‘साथीहरूको धेरै याद आउँछ, सपनामा पनि उनीहरूलाई नै देख्छु’

केन्द्रबिन्दु
0
Shares

‘बिहान ६ बजेदेखि मिसाईलहरु पड्किन थाले त्यसपछि हामी बङ्करभित्र भाग्यौँ।’ हमासको आक्रमणमा परि घाइते भएका धनबहादुर चौधरीले शुक्रबारको झिसमिसे बिहानीमा काठमाडौँ उत्रिएपछि पत्रकारहरूसँग आक्रमण घटना सुनाए। 

थरथरी कापीरहेका ओठ, र ह्वीलचियरको सहायतामा रहेका उनलाई सञ्चारकर्मीले घेरेका थिए। उनी भने कापीरहेका थिए। आफ्नै अगाडि कयौं साथीहरू छटपटाउँदै मृत्युको मुखमा पुगेको देखेका उनले, आफू बाँचेको कुरा नै सपना जस्तो लागेको छनक दिइरहेका थिए। 

‘बिहान ६ बजेदेखि मिसाइलहरु पड्किन थाले। त्यसपछि हामी बङ्करभित्र भाग्यौँ । ८ बजेतिर एक्कासी त्यहाँ हमासहरुको आक्रमण भयो। २ जना साथीहरुलाई गन हानेर त्यही मारिदिए।’ कारुणीक स्वरमा चौधरी बोले।

हिँड्नै नसक्ने अवस्थाका चौधरीलाई विमानस्थलका कर्मचारीले ह्वीलचियरको सहायतामा विमानस्थल बाहिर ल्याएका थिए। लामो हवाई यात्रा, घाइते शरिर त्रासदीपूर्ण समयको साक्षीबन्दाको सन्नाटा आखामा प्रष्ट झल्किन्थ्यो। 

सञ्चारकर्मी कसैले पनि उनको अवस्था देख्दा प्रश्न सोध्न सक्ने अवस्था थिएन। पत्रकारकै पनि आँखा रसाएका थिए। घटनाबारे चौधरीले बोलिरहेका थिए निरन्तर ‘एकछिन पछि हेर्दा कोही साथीहरूको खुट्टा नै थिएन। कसैको के थिएन। एकछिन पछि इजरायली प्रहरी आएर घाइते नभएकाहरूलाई अर्को बङ्करमा लग्यो। हामीलाई पुरानै बङ्करमा राखियो। त्यहाँ आक्रमण भएन। त्यसैले म बाँचे।’ श्वासले मात्रै बाचेका चौधरीले अरु साथीहरू गुमाउनुको पीडा पोखे। 

‘कति साथीहरू ओभर ब्लिडिङ भएर मरे। समयमा उपचार पाएको भए बाँच्थे।’ घटना भएको ९ घण्टापछि मात्रै रेस्क्यू टोली पुगेको बताएकाे उनले अहिले पनि त्यो कहाली लाग्दो घटना विर्सन सकेका छैनन्। सपनामा पनि त्यही गोली लागेका साथिहरुलाई नै देख्ने गरेको बताए। ‘९ घण्टापछि रेस्क्यू टोली आयो। दोस्रो बङ्करमा आक्रमण भयो त्यहाँ धेरै साथीहरू मरे। मिसिङ छन् साथीहरू उनीहरूलाई खोज्दिनुहोला । साथीहरूको धेरै याद आउँछ। म सुत्न पनि सक्दिनँ। सपनामा देख्छु।’ 

काँपेको र गलित स्वरमा चौधरीले अनुरोध गरे। ‘मेरो साथीलाई खोज्दिनुपर्यो।’ घर फर्किन चाहने नेपालीहरूलाई लिन सरकारी निर्णयअनुसार विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए। विमानमा धनबहादुरसहित २५४ जना आफ्नो जन्मथलो फर्किएका छन्। घर फर्किन पाउँदाको खुसी ओठमा देखिए पनि, आँखामा त्रासदीपूर्ण समयको बादल फाट्न बाँकी भए झै देखिन्थ्यो। 

आफन्त आउने खबरपछि विमानस्थल पुगेकाहरूले अंकमाल गर्दै हर्षका आशु बगाएपनि,फर्किएका धनबहादुर जस्तै अरुको पनि एउटै चाहाना छ। विदेशमा भएका अरु साथीहरू पनि सकुशल फर्किऊन्। हराइरहेका साथी बिपिन जोशी चाँडै सम्पर्कमा आउन र घर फर्किऊन्। 

Skip This
Skip This
Logo