काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजीवन काराबासको माग गर्दै मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल जेल (आजीवन काराबा)को मागदाबीसहित अभियोगपत्र दायर गरेको हो। प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको हो।
प्रहरीसँग बयानका क्रममा अभियुक्त भण्डारीले आफू तीक्ष्ण क्षमता भएको व्यक्ति भएको र एकपटक देखेको व्यक्तिलाई सधैँ चिन्ने बताएका छन् । सोहीकारण नवीन राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका हुन् ।
‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एक पटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु । मलाई मोटरसाइकलले ठक्कर दिँदा, मैले ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भइरहेको थियो । दुर्घटना पश्चात मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो । सोही अनुसार मलाई ठक्कर दिइ उपचार खर्च नदिइ हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ । सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको अवस्थामा देखी मैले निजलाई चिनिहालेँ ।’ उनले भने, ‘म निजको पिछा गर्दै जाँदा काठमाडौँ, तीनकुनेस्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योगभित्र छिरे, त्यसपछि पटकपटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डण्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरुमा बस्ने गरेको निश्चित भइ मलाई ठक्कर दिने मोटरसाइकल चालक उक्त काष्ठ उद्योगमा बस्ने गरेको यकिन भयो ।’
यस्तो छ तीनकुने सामूहिक हत्याकाण्डमा अभियुक्त भण्डारीले दिएकाे बयानको अंश-
‘सांकेतिक भाषाको माध्यामबाट अध्यापन गराइने श्री सिन्धु बहिरा आधारभूत विद्यालय बाह्रबिसे सिन्धुपाल्चो फाँटको छात्रबासमा बसी कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गरी, सो पश्चात काठमाडौँ नक्सालमा रहेको छात्रबासमा बसी श्री केन्द्रीय बहिरा उच्च माध्यामिक बिद्यालय नक्साल काठमाडौँमा शिक्षा संकायमा अध्ययन गरी १२ कक्षा पास गरेको छु । १२ कक्षा पास गरेपछि म जस्तै बहिरा साथीहरु रोशन कार्की, पंकज शर्मा र शिवराम मगर भन्ने साथीहरुसँग मिली काठमाडौँ धुम्बराहीस्थित धिरज नकर्मीको घरको एउटा कोठा भाडा लिइ ३/४ महिना जति बस्यौँ । त्यसपछि गाउँको घर सिन्धुपाल्चोक गई बसेँ । समय समयमा काठमाडौँ आउने जाने गर्दै थिएँ ।
२०७९ कार्तिकतिर काठमाडौँ आई काँडाघारीस्थित कान्छी दिदी भगवती भण्डारीको डेराकोठामा लगभग ३/४ महिना बसी कम्प्युटर सिकेँ । पुनः गाउँको घर सिन्धुपाल्चोक बाह्रबिसेमा गई बसेकोमा घटनाको दिन काठमाडौँ आई घटना घटाएको हुँ । मिति २०८०।०५।२९ गते राति जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योगमा मैले चार जना व्यक्तिको हत्या गरेको हुँ । मैले हत्या गरेको मृतकहरुको नाम विशाल भन्ने नवीन राई, कुमार भन्ने पूर्ण बहादुर भुजेल, अम्बिका भुजेल र सुभद्रा भुजेल भन्ने पछि थाहा पाएको हुँ ।
म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एक पटक देखेको व्यक्तिलाई सधैँ चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु । मलाई मोटरसाइकलले ठक्कर दिँदा, मैले ठक्कर दिने मोटरसाइकल चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतको हुलिया राम्रोसँग नियालेको कारण मेरो मानसपटलमा गहिरो स्मरण भइरहेको थियो । दुर्घटना पश्चात मोटरसाइकल कोटेश्वरतर्फ गएको थियो । सोही अनुसार मलाई ठक्कर दिइ उपचार खर्च नदिइ हातपात गर्ने मोटरसाइकल चालकको म निरन्तर खोजीमा थिएँ । सोही क्रममा म काँडाघारीमा बस्ने हुँदा कोटेश्वरको बाटो हुँदै आवतजावत गर्ने क्रममा मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई पैदल हिँडेको अवस्थामा देखी मैले निजलाई चिनिहालेँ । म निजको पिछा गर्दै जाँदा काठमाडौँ, तीनकुनेस्थित दिव्य सः मिल एण्ड काष्ठ उद्योगभित्र छिरे, त्यसपछि पटकपटक काष्ठ उद्योगको वरपरबाट नियाल्दा काष्ठ मिलको पश्चिमतर्फको फलामे डण्डीको गेटसँग सटाई बनाएको अस्थायी टहराहरुमा बस्ने गरेको निश्चित भइ मलाई ठक्कर दिने मोटरसाइकल चालक उक्त काष्ठ उद्योगमा बस्ने गरेको यकिन भयो ।
निजको नाम नवीन राई भन्ने पक्राउ परेपछि थाहा पाएको हुँ । मलाई ठक्कर दिइ, हातपात गरी मेरो आत्मसम्मानमा चोट पुर्याउने मोटरसाइकल चालक नवीन राई बस्ने स्थान जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ तीनकुने स्थितको दिव्य सःमिल एण्ड काष्ठ उद्योग पत्ता लगाइसकेपछि मैले निजलाई मार्न सकिने अवसर खोज्दै गर्दाको अवस्थामा म सिन्धुपाल्चोक बाह्रबिसेस्थित आफ्नो घरमा गई करिब एक–दुई महिनाजति घरमा बसेँ । घटनाको अघिल्लो दिन बेलुका काठमाडौँ गइ मलाई ठक्कर दिने मोटरसाइकल चालकलाई मार्नु पर्छ भन्ने लाग्यो र भोलि काठमाडौँ गइ मार्ने योजना बनाएँ ।
सोही अनुसार घटनाको दिन नवीन राईलाई मार्नको लागि पहिलेदेखि घरमा राखेको खुकुरी, मेरो परिचयपत्रहरु, कपडासमेत झोलामा राखी, लिइ अन्दाजी बिहान ११ बजेतिर बाह्रबिसेस्थित अरनिको यातायातको काउन्टरमा आई अपाङ्ग छुटको सुविधा लिइ भाडा तिरी बस चढी काठमाडौँ हिडेँ । बेलुका अन्दाजी १६ः०० बजेतिर बसले काठमाडौँ, कोटेश्वर ल्याइपु¥यायो र सोही स्थानमा बसबाट उत्रिएँ । कोटेश्वरबाट अर्को गाडी चढी चाबहिल गइ उत्रिएँ । चाबहिलबाट पैदल हिँड्दै गहनापोखरी हँुदै नक्साल गई मजस्तै बहिरा साथीहरु चित्र बहादुर लामा, मनिष शाह र विवेक बस्नेतलाई भेटी केही समय सामान्य व्यक्तिगत गफ गरी निजहरुसँग छुट्टिइ पुनः नक्सालबाट पैदल हिँड्दै गहनापोखरी, चाबहिल, एअरपोर्ट हँुदै घटनास्थल तीनकुने गएको हुँ । घटनास्थल जाने क्रममा गौशलाबाट मोबाइल अफ गरेँ । खुकुरी राखेको झोला मैले बोकी हिँडेको थिएँ । घटनास्थलमा पुग्दा राति अन्दाजी १९ः०० बजिसकेको थियो ।
घटनास्थल दिव्य सः मिल एण्ड काष्ठ उद्योगको दक्षिणमा एयरपोर्ट देखिने रिङरोडतर्फ मुल गेट थियो । मुल गेट अगाडि केही चहलपहल देखिन्थ्यो, सो गेटबाट पश्चिम अन्दाजी १०–१५ मिटरको दुरीमा दिव्य सः मिल एण्ड काष्ठ उद्योगको पश्चिम गेटतर्फ जाने बाटो छ, सो बाटोबाट पश्चिमतर्फको गेटमा गएँ । उक्त बाटोबाट काष्ठ उद्योगसँगै रहेको मार्बल उद्योगमा जाने गेट छ, सो गेट बन्द थियो, सो बाटो त्यही अन्त्य भएको थियो । अन्यत्र जान आउन सकिने अवस्था थिएन । पश्चिम गेट अगाडिको दुईवटै ठुलो घर पूर्णरुपमा खाली जस्तो सुनसान थियो । त्यहाँ मानिसको चहलपहल हुने ठाउँ थिएन । पश्चिम गेट फलामको डण्डीहरु जोडी बनाएको थियो, सोही फलामको डण्डीहरुमा टेकी समाती नाघी, गेटसँगै रहेको दिव्य सः मिल एण्ड काष्ठ उद्योगको एककोठे कच्ची टहराको घरमा प्रवेश गरेँ ।
घटनास्थलमा जाँदा खुकुरी राखेको झोला बोकी गएको थिएँ, सुरुमा प्रवेश गरेको पश्चिम गेट नजिकको एक कोठे टहरो घरको कोठामा ढोकाको चुकुलमात्र लगाएको, चाबी लगाएको थिएन । चुक्कुल खोली सो कोठाभित्र गएँ, कोठामा चुरोट सल्काई सेवन गरेँ । लगभग १५ मिनेटजति सोही कोठामा बसेँ । सो कोठाको सामुन्ने अगाडि भुई तला समेत दुई तले कच्ची टहरो घर थियो, सो घरको भुई तला बन्द र माथिल्लो तलाको ढोका खुला, बत्ती बलिरहेको अवस्थामा थियो । उक्त बत्ती बलेको कोठामा बाहिरबाट जाने फलामे गोलो रेलिङ भ¥याङ थियो । सुरुमा प्रवेश गरेको कोठाबाट निस्की सो कोठाको सामुन्नेको टहरो घरमा गइ फलामे रेलिङ गोलो भर्याङ चढी बत्ती बलिरहेको माथिल्लो कोठामा गएँ । कोठाको बिचमा बार लगाई दुई वटा कोठा बनाई अफिसको लागि प्रयोग गरेका रहेछन् । कोठामा कोही थिएन ।
केही समय सो कोठामा राखिएको सोफामा बसेपछि बाहिर मान्छे आएकोजस्तो लाग्यो, उठेर हेर्दा बाहिर मान्छे हिँडेको देखेँ । उक्त मान्छे पश्चिम गेटतर्फ गइ, फर्किइ पूर्वतर्फ गइ पुनः फर्किइ आउँदै थिए । आउँदै गरेको व्यक्ति मलाई ठक्कर दिइ हातपात गर्ने मोटरसाइकल चालक नवीन राई रहेछन् । निज नवीन राई म बसेको कोठातर्फ आउन थाले । म पूर्वयोजना बमोजिम झोलाबाट खुकुरी निकाली कोठाको ढोकामा तयारी अवस्थामा बसेँ । नवीन राई ढोकामा आइपुग्नासाथै मलाई देखी मेरो गालामाथि टाउकाको भागमा झापड हाने । मैले दुवै हातले खुकुरी मजबुत तवरले समाती बल लगाई निजको टाउकोमा जोडले प्रहार गरेपछि रगताम्मे भइ ढले, ढलेपछि पनि मैले टाउकोमा पटकपटक प्रहार गरेँ । म¥यो भन्ने यकिन भइ निजको गोडामा समाती घिसारी कोठाभित्र छेउमा लगी राखेँ । केही समयपछि कोठा बाहिर आँगनजस्तो भागमा अर्का ५०–५५ वर्ष जतिको देखिने छोरा मान्छे फोनमा कुरा गर्दै आएको जस्तो लाग्यो । कोठाबाट तल झरी निजको पछाडि टाउकोमा जोडले खुकुरीले हानेँ, निज एकै चोटमा ढले, ढले पश्चात पनि टाउकोमा पटकपटक प्रहार गरेँ ।
मरेको यकिन भएपछि निजको दुवै गोडामा समाती घिसारी टहराको पछाडि कुनामा रहेको ट्वाइलेटको ढोकाको छेउमा लगी लुकाएँ । निजको शव लुकाइ आउँदा सोही ठाउँ नजिकै आँगनमा अर्को महिला आउँदै गरेको देखेँ । निजलाई पनि खुकुरी हानेँ, सुरुमा हान्दा छेकेको जस्तो लाग्यो, तत्कालै दोस्रोपटक जोडले हान्दा भुइँमा ढली हालिन्, निज महिलाको शव पनि दुई वटा गोडामा समाइ घिसारी केटा मान्छेको शव लुकाएको ट्वाइलेटको ढोका सामुन्ने पानी तान्ने चापाकलको छेउमा लगी लुकाएँ । लगत्तै झोला भिरेकी बुढी मान्छे आँखा नदेखेको जस्तो गरी बिस्तारै भुइँतिर हेर्दै आउनु भयो, ती बुढी मान्छेलाई समाती घाँटी रेटी मारी शवलाई घिसारी काठहरु राखेको कुनामा लगी लुकाएँ । त्यसपछि यताउता हेरेँ, कसैलाई देखिनँ । लगभग रातिको ९ जति बजिसकेको सुनसान थियो । म थाकिसकेको थिएँ, शवहरु लुकाएको नजिकै चापाकलको धारामा प्लाष्टिकको बाल्टी थापिरहेको रहेछ, सो धारा थिची धाराबाट पानी निकाली हात, मुख, खुकुरी धोएँ । पानीको सहायताले मेरो कपडामा लागेको रगत पुछेँ र अफ गरेको मोबाइल अन गरी, मोबाइलको लाइटबाली शरीरको रगत पुछिएको छ, छैन हेरी, यकिन गरी घटनास्थलमा प्रवेश गरी चुरोट खाएको पहिलो कोठामा गई आराम गरेँ ।
लगभग डेढ–दुई घण्टा जति आराम गरेपछि फ्ल्याक्स लाइटहरु आएको जस्तो लाग्यो । घटना सम्बन्धमा थाहा पाइ मानिसहरु जम्मा हुन लागेको जस्तो लागी, खुकुरीसहितको झोला बोकी घटनास्थलमा प्रवेश गरेको गेटबाट, गेटमा जडान गरेका फलामको डण्डीहरुमा समाई टेकी, गेट नाघी बाहिर निस्की, दगुर्दै सडक क्रस गरी तीनकुने हुँदै कोटेश्वरतर्फ भागेको हुँ ।’
प्रतिक्रिया