धादिङवासीमा राष्ट्रिय विभूति साख्वाको सालिक

धादिङवासीमा राष्ट्रिय विभूति साख्वाको सालिक

केन्द्रबिन्दु
0
Shares

धादिङको नीलकण्ठ नगरपालिका-३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ। स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो।

राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताए।

सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ। चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनः निर्माण गरिएको छ। गाउँ गाउँबाट सदरमुकाम आइपुगेका सुस्ताउने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ।

स्थानीय दाताबाट सङ्कलन भएको रु तीन लाख ७५ हजार, बीचबजार टोल सुधार समितिको कोषमा रहेको एकलाख ९४ हजार तीन सय गरी कूल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुङ्गेधारा र विश्राम स्थलको संरचना निर्माण पूरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

चौबिसैँ घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुङ्गेधारा निर्माण गरिएको छ। भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय विभूति शङ्खधर सख्वाको सालिक निर्माण भइरहेको उनले बताए। चौतारो, ढुङ्गेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ।

सहयोगी दाताबाट सङ्कलन भएको एक लाख ५४ हजार छ सय र गणेश मन्दिर संरक्षण समितिको कोषबाट दुई लाख ५७ हजार गरी रु चार लाख ११ हजार छ सयबाट मन्दिरको पुनः निर्माण गरिएको समितिका संरक्षण समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

Logo