आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

केन्द्रबिन्दु
0
Shares

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ। 

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आस्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैँ पर्व मनाउने हिन्दु परम्परा छ।

आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै रहेको छ। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिंचित गरिन्छ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ। 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

Logo