रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

केन्द्रबिन्दु
0
Shares

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो,तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो।

बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त्यो चलन हराउँदै गएको छ। रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन्। उतिबेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन्।

गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले रातोमाटो र सेतो कमिरोले घर पोत्न छोडिसके। आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन्। घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्यो। तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ।

पहिलेको तुलनामा अहिले दसैँको रौनक पनि हराउँदै गएको छ। रातोमाटो र कमेरो गाउँ पहिचानसँग जोडिएको छ। गाउँमा ढुङ्गा, माटो, काठ र घरले बनेका घर विस्तारै हराउँदै छन्। अचेल माटो, काठ र ढुङ्गाको सट्टा फलामका रड,जस्तापाता र सिमेन्ट प्रयोग हुने गर्छन्। यसले ग्रामीण क्षेत्रको मौलिकता हराउँदै गएको छ। 

एक दशक अघिसम्म बागलुङका कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए। अहिले सडक नपुगेको गाउँ छैन। गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन्। इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ।

हरेक दिन गाउँमा मौलिक घर विस्थापित हुन थालेपछि बूढापाका चिन्तित बनेका छन्। जिल्लाका पालिकाले पनि धमाधम मौलिकता बोकेका खरको घर विस्थापित गरिरहेका छन्। बजारकै जस्ता घर गाउँमा बनेपछि पहिचान गुम्ने जोखिम बढेको छ। 

स्थानीयले गाउँकै स्रोत साधान प्रयोग गरेर मौलिकतालाई जोगाउनु पर्ने गलकोट नगरपालिका-९ का ७३ वर्षीय जितबहादुर खत्रीले बताए। देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्था आएको भन्दै सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्ने उनि बताउँछन्। पहिले–पहिले गाउँका घर बलियो बनाउनका लागि हरेक दिन गाईको गोबर र रातोमाटोले लिप्ने गरे पनि अहिले त्यो चलन हराएको बताउँछन्।

“आजभोलिको दसैँ पहिलेको जस्तो रमाइलो नै हुँदैन, हाम्रो पालामा नवदुर्गा सुरु भएपछि गाउँमा निकै चहलपहल हुन्थ्यो, रातोमाटो र कमेरोले घर लिप्ने गरिन्थ्यो, घरलाई झकिझकाउ बनाउन, टाढा-टाढा पुगेर रातोमाटो, कमेरो ल्याइन्थ्यो,बर्खाले बिगारेको बाटाघाटा झारा गरेर मर्मत गर्ने गरिन्थ्यो, तर अहिले त्यो चलन पूरै हरायो”,खत्रीले भने,“आजकाल त बजारबाट रङ किनेर ल्याएर घरमा लगाउने गर्छन्,अहिलेको रङभन्दा उतिबेलाको माटो र गोबरले लिप्दा घर बलियो हुन्थ्यो, मान्छेले आफ्नो परम्परा बिर्सिए,अरुको संस्कार सिके।”

बागलुङको निसीखोला गाउँपालिकाकी तिलकुमारी सुनार रातोमाटो र कमेरो बिक्री हुन छोडेको बताउँछन्। वर्षौंदेखि माटो र कमेरो बेचेर जीविकोपार्जन गरेको उल्लेख गर्दै उनले गाउँ–गाउँमा पक्की घर बन्न थालेपछि माटो बिक्री गर्न मुस्किल भएको बताए।

पहिले दसैँको १५ दिन अगाडिदेखि आफूलाई स्थानीयको घरघरमा माटो र कमेरो पुर्याउन भ्याइनभ्याइ हुने गरेको स्मरण गर्दै अहिले एक डोको मोटो बेच्न पनि गाह्रो पर्ने सुनाए। माटो बेचेर मासिक रु १० हजार कमाएको सुनाउने सुनारले अहिले अर्मपर्म गरेर दैनिकी चलाउनुपरेको बताउँछन्।

“घर माटोले पोत्ने चलन हरायो, गाउँका कच्ची घरमा पनि बजारबाट रातो रङ लिएर लगाउन थालेका छन्, पहिले मैले एकै दिनमा १७-१८ घरमा माटो पुर्याउने गर्थे, अहिले दुई÷तीन घरबाट पनि माग आउँदैन, अहिलेत सबैका घरमा सिमेन्ट लगाएका छन्, टिन (जस्तापाता)ले छाएका छन्”, सुनारले भने, “दसैँ आएको छ, माटो कसैले किन्दैनन्, कहिँबाट पैसा पनि आउँदैन, पहिले त पैसा हुनेले पैसा, नहुँनेले धान, मकै, मिठो दिन्थे, परिवार पाल्न सजिलो थियो, अहिले त अरु काम गर्नुपर्छ।”

स्थानीय मीनकुमारी पौडेलले पहिले दसैँ तिहारको बेला धेरै महिला माटो बिक्री गर्न घरघरमा पुग्ने गरेको सुनाउँदै अहिले कोही पनि नहिँड्ने बताए। दसैँका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेकामा सो हराउँदै गएको बताए। घरको झ्याल ढोकामा काफलको बोक्रा पकाएर लगाउने गरेको स्मरण गर्दै अहिले इनामेलले रङ्ग्याउने गरेको बताए। 

नयाँ पुस्ताले सबै सजिलो र राम्रो खोज्न थाल्दा पुराना परम्परा हराउँदै गएको पौडेलको भनाइ छ। पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमिरोको माग निकै हुने गरेकोमा अहिले सबै भवनहरु पक्की बनेकाले त्यसको आवश्यक नपर्ने उनि बताउँछन्।

पौडेलले भने, “घरभन्दा परको हाम्रो बारीमा सेतो कमेरो पाइन्थ्यो,दसैँका बेला त्यहाँ ठूलो भीड हुन्थ्यो, एक बोरा कमेरो ल्याउन मान्छेले घण्टौँ कुर्नुपथ्र्यो,तर अहिले त्यो ठाउँ पुरौँ झारपातले पुरिएको छ, धेरै वर्ष भयो, यहाँ कोही पनि कमेरो ल्याउन आएका छैनन्,त्यस बेला त स्कुलमा पनि कमेरो लगाउने चलन थियो, विद्यार्थी लाइन लगाएर आउँथे, रमाइलो पनि हुन्थ्यो। तर अहिले विद्यालय पनि सिमेन्टबाट बनेका छन्, त्यही भएर माटो कमेरो चाहिँदैन।”

Skip This
Skip This
Logo