जब जनप्रतिनिधिहरु कम्बल बोकेर जाडो प्रभावितका घर पुगे…

जब जनप्रतिनिधिहरु कम्बल बोकेर जाडो प्रभावितका घर पुगे…

केन्द्रबिन्दु
0
Shares

सिरहा ।

सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए ।

केही छिनपछि नगरप्रमुख अशेश्वर यादवले उनको परिवारजनलाई सिरक प्रदान गर्दै दिँदै नागरिकलाई जाडोबाट जोगाउन नगरपालिका प्रतिवद्ध रहेको बताए । चिसोबाट जोगिन न्यानो लुगा लगाउनु, झोलिलो खानेकुरा खानु, आगो बालेर घुर ताप्दा सतर्कता आउनु जस्ता चेतनामूलक पम्पलेट लिएरै सिरक वितरण गर्न सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख पुगेपछि स्थानीय दङ्ग परेका थिए । सो अवसरमा प्रदेश कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको हातबाट सिरक पाएपछि वडा नं ४ का ६५ वर्षीय पुदन सदाको खुशीको सीमा नै रहेन । उनी मञ्चमै भावविह्ल भएका थिए । सुखीपुरले वडा नं ४ का दलित, विपन्न तथा ज्येष्ठ नागरिक गरी २०० जनालाई सिरक वितरण गरेको छ ।

विगत केही दिनदेखिको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित आफ्ना नागरिकको ज्यान जोगाउनु आफूहरुको कर्तव्य हो भने बुझेर न्यानो लुगा वितरणसँगै जनचेतना जगाउन थालिएको नगरप्रमुख रामअवतार यादवले बताए ।

यस्तै सिरहा नगरपालिकाले पनि वडा नं ६ बसबिट्टाका २५० परिवारलाई कम्बल वितरण गरेको र अरु वडामा पनि सिरक र कम्बल वितरण गरिने योजना रहेको जनाएको छ । सिरहा र सुखीपुर नगरपालिकाले मात्र होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई चिसोबाट जोगाउन सिरक, कम्बल र न्यानो लुगा वितरण गर्दै जनचेतना जगाउन सक्रिय बनेका छन् ।

शीतलहर र चिसो जस्तो विपदबाटट आफ्ना नागरिकलाई जोगाउन जिल्लाभरीका जनप्रतिनिधि सक्रिय भएपछि जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोना महामारीको सन्त्रासका बेला आफ्ना नागरिकलाई भरोसा दिलाउन सफल भएका जनप्रतिनिधि जनताको दैलोमा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको छ । सिरहा– ६ का शम्भु सदाले भने, “यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भए पनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।”

जनताका लागि केही गर्दैन, केबल जनप्रतिनिधि कमाउनमै व्यस्त रहेको आरोप जनप्रतिनिधिमाथि लागिरहेका बेला आइपुग्न लागेको कोरानो महाविपद् र अहिलेको शीतलहरको घडीमा जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा न्यानो लुगा बोकेर पुग्न थालेपछि त्यो भ्रमसमेत हट्ने उनको विश्वास छ ।

जिल्लामा १७ वटा स्थानीय तह छन् । ती स्थानीय तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला कि त गाउँगाउँमा चिसोबाट प्रभावित आफ्ना नागरिकलाई कसरी जोगाउनेसम्बन्धी जनचेतना जगाउनमा मस्त छन् कि त सिरक र कम्बल वितरण गर्न सक्रिय बनेका छन् । यसका साथै स्थानीय तहको सक्रियतामा बजार तथा भिडभाड हुने स्थानमा आगो बाल्न दाउरासमेत उपलब्ध गराउन थालिएको छ । रासस

Logo