कमला नदीमा आज धामी झाँक्रीको मेला

कमला नदीमा आज धामी झाँक्रीको मेला

केन्द्रबिन्दु
0
Shares

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा आज भूतमेला लागेको छ।

प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने तथा घरमा कूल र भूतप्रेतले दुःख नदिने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेलामा स्थानीय पुग्ने गर्छन्। 

आज बिहानै मेला हेर्न धनुषासहित सिरहा,सप्तरी, महोत्तरी, उदयपुर लगायतका छिमेकी जिल्ला र भारतका कतिपय स्थानबाट धेरै संख्यामा सर्वसाधारण कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन्।

नदीमा स्नान गर्दा पाप क्षय हुने र आजको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने तथा नयाँ झाँक्री बन्न चाहनेका लागि पनि आजको दिन उपयुक्त हुने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए। 

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कातिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने परम्परा निकै पुरानो भएको दासको भनाई छ। यो मेलालाई धामी झाँक्रीको मेला पनि भन्ने गरिन्छ। 

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी तथा स्थानीय बताउँछन्। 

Logo