सोती घटनाको मुद्दामा अन्तिम सुनुवाइ सकियाे, फैसला कहिले आउला ?

सोती घटनाको मुद्दामा अन्तिम सुनुवाइ सकियाे, फैसला कहिले आउला ?

केन्द्रबिन्दु
0
Shares

जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको सोतीमा भएको घटना सम्बन्धमा परेको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । 

आइतबारदेखि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो। सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका छन्, जसमा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका छन्। ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका छन्।

बहस सकिए पनि फैसला आउनेबारेमा भने टुंगो लागेको छैन। फैसला लेख्न एक दिन लाग्नसक्ने बताइएकाे छ । 

२०७७ जेठ १० गते सोतीकी मल्ल थरकी एक किशोरीको प्रेमी भनिएका नवराज विकसहित जाजरकोटबाट आएका ६ जना युवाको स्थानीयको आक्रमणमा ज्यान गएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । साे अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ गते मुद्दा दायर गरिएको थियो ।

अभियोग लागेका मध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाइएको छ भने बाँकी एक जनालाई मतियारको अभियोग लागेको छ । अभियुक्तमध्ये १ जना धरौटीमा तथा अन्य १० जना सामान्य तारिखमा यसअघि नै छुटिसकेका छन् भने बाँकी २३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

Logo