खत्याड गाउँपालिकाभरिका एकल महिला र दलित परिवारलाई निःशुल्क रुपमा सोलार प्यानल उपलब्ध गराइएको छ।
विद्युतको कुनै पनि प्रसारण लाइनले नछोएको पश्चिम खत्याड गाउँपालिका भरिका ३ सय ३९ जना दलित र ८४ जना एकल महिला गरी ४ सय २३ घरलाई सौर्य पाता सेट वितरण गरिएको हो।
‘ब्याक टु लाइफ जर्मन’ को आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक मुगु) नामक गैरसरकारी संस्थाको सहजीकरणमा सोलार प्यानल बितरण गरिएको हो।
एउटाको २५ हजार मूल्य पर्ने जनाइएको सोलार प्यानल सेट सबैको गरी १ करोड ५७ लाख ५ हजारभन्दा बढी रकम परेको हेरेन्डेक मुगुका प्रबन्धक नवराज रावतले बताए।
बत्ती नहुँदा बालबच्चा पढाउन निकै समस्या पर्ने गरेको साथै सल्लाको दिवाले (झरो) बालेर काम चलाउनुपरेको अवस्थामा अब सोलार उपलब्ध भएपछि धेरै सहज हुने खत्याड गाउँपालिका ९ का जयधर्म लावडले बताए।
वितरित सोलार प्यानल ५० वाट क्षमताबाट ५ वटा बत्ती बाल्न मिल्ने र मोबाइल फोन चार्ज समेत गर्न सकिने बताइएको छ। स्थानीय एकल महिला राजकला कार्कीले झरोको धुवाले समस्या हुने, कपडाहरु कालो हुने र सबैतिर फोहोर हुने गरेकोमा अब सोलारको प्रयोगले सजिलो हुने बताइन्।
सोलार बत्ती र पाता खत्याड गाउँपालिका वडा न ४ हिगोटीमा रहेका १ सय १९, वडा ८ रिगामा २२ घर, सुकाढिक १८ घर, आमआम १६ घर, वडा न ९ नखर्जी १ सय ४ घर र वडा न ११ रातापानी, लुइ ६० घरधुरी गरी जम्मा ३ सय ३९ दलित परिवारलाई वितरण गरिएको छ।
यस्तै, एकल महिलातर्फ वडा १, २, ४, ५, ८, ९, ११ का क्रमशः ११, १९, १४, ७, १७, ९ गरी जम्मा ८४ जनालाई सोलारपाता सेट दिइएको हेरेन्डेक नेपाल मुगुका सहायक प्रवन्धक विष्णु रावतले बताए।





























प्रतिक्रिया