धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई

धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई

केन्द्रबिन्दु
0
Shares

तनहुँको भानु नगरपालिका-७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ।

पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मंगलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ।

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ। देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगर बताउँछन्।

यहाँ विशेष गरी मंगलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन्। अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन्।

थापाले भने, ‘मन्दिरमा विशेष गरी कात्तिक र मङ्सिरको मंगलबार धेरै फूलको डोली भित्रिन्छ। यो पटक कात्तिकमा दसैँ र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो।’

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन्। उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ। मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ। मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ। 

Skip This
Skip This
Logo