बुटवल । अर्घाखाँची जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
क्वारेन्टाइनबाट भागेका पक्राउ
भूमिकास्थानको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान १ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । गत जेठ २२ गते पीसीआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भागेर घरतर्फ हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
रुकुमपूर्व कोरोना सङ्क्रमणमुक्त
रुकुमपूर्व– स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व) कोरोना सङ्क्रमण मुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पीसीआर रिपोर्ट मंगलबार नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए ।
दाङमा कोरोना संक्रमण तीव्र
घोराही– दाङमा मंगलबार थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती प्रतिष्ठामा गरिएको परीक्षणमा ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ ।
मंगलबार पुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २ सय ४३ जनामा सङ्क्रमण भएको छ । प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै ४ हजार ८ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टाइनमा खटिएका भान्छे र स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
प्युठानमा थप २० मा कोरोना
झिमरुक– प्युठानमा आज थप २० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले जानकारी दिए । सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् ।–रासस





























प्रतिक्रिया