क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भनिएकी युवती गौशाला २६ ले आफ्नो वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएकी छन्।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।
केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दायर गर्ने ‘गौशाला–२६ यिनै हुन्’ भनेर एक किशोरीको नाम र फोटो भाइरल बनाइएकाे छ । मानिसहरुले उक्त फोटोमा विभिन्न नकारात्मक टीकाटिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसै विषयमा एक कार्यकर्तालाई कारबाही पनि गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा सन्दीपलाई अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनका फ्यानहरु पीडितकाे तस्बिर र नाम सामाजिक सञ्जालमा राखेर गालीगलाैजमा उत्रिएका छन् ।





























प्रतिक्रिया