काठमाडौं । उपत्यका नगरपालिका फोरमका पदाधिकारीले उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ गर्न सरकारसँग माग गरेका छन् । मंगलबार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट गरी उनीहरुले सो माग गरेका हुन् ।
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले संयोजक पोखरेलसँगको भेटमा उपत्यका बाहिरबाट हुने आवत–जावतलाई कडाइ गरी उपत्यकाभित्र भने केही खुकुलो बनाउनु उनीहरुको माग छ । ‘उपत्यका बाहिरका केही स्थानमा अहिले पनि कोरोना संक्रमित बढीरहेका छन् । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ’–फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यले भने–‘यस्तो बेलामा उपत्यकाबाट हुने आवत–जावतमा कडाई नगर्ने हो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । हामीले उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनु भएका रक्षामन्त्री ईश्वर पोखरेल ज्यूसँगको भेटमा यहि कुरा राखेका छौँ ।’
त्यस्तैगरी उपत्यकालाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने विषयमा छलफल भएको फोरमका सचिव मदनसुन्दर श्रेष्ठको भनाइ छ । ‘उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल गर्यौँ’–मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं फोरमका सचिव श्रेष्ठले भने–‘पुनः लकडाउन थप्ने र खुकुलो बनाउने भन्ने कुरा आइरहेको छ । हामीले खुकुलो बनाउने नाममा उपत्यकामा निर्वाध प्रवेश दिनु हुँदैन भनेर प्रष्टसँग भनेका छौँ ।’
कार्यक्रममा फोरमका अध्यक्ष मेयर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठलगायत सहभागी भएका थिए ।





























प्रतिक्रिया