काठमाडौं महानगरद्वारा एक लाख मानिसलाई खाना, ८१ हजारलाई राहत

काठमाडौं महानगरद्वारा एक लाख मानिसलाई खाना, ८१ हजारलाई राहत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
लकडाउन अवधि लम्बिएसँगै काठमाडौं महानगरपालिकाले अतिविपन्न, असाहय र मजदूरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म ८१ हजार भन्दा बढीलाई राहत वितरण गरेको छ । त्यसैगरी अहिलेसम्म एक लाख मानिसलाई खाना खुवाएको महानगरले जानकारी दिएको छ ।

महानगर प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका कारण आएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउने लगायतका प्रयास गरिरहेको बताए । ‘महानगर क्षेत्रभित्र रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस् भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिदैँ आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला । हामी उहाँहरुको जिम्मेवारी लिन तयार छौँ ।’

उनले लकडाउनको अवधिमा कोही पनि भोक–भोकै पर्नु पर्ने अवस्था नआओस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिए । कतिपय स्थानमा मेयर शाक्य आफैँ पनि अनुगमनमा पुग्ने गरेका छन् । केही दिन अघि उनले चमती पुगेर जनतासँगै बसेर खानासमेत खाएका थिए ।

महानगर प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि महानगर क्षेत्र भित्र कोही पनि भोकै नपरुन् भन्ने उद्देश्यले राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिए । यस्तै वडा नं.–३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको छ वडासँग सम्वन्वय गरि बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए । त्यसैगरी वडाकै समन्वयमा नारायणगोपाल चोकको एरिकल व्याङ्क्वेटकातर्फबाट होम बुढाथोकी र मेघा पार्टी प्यालेसले दैनिक खाना खुवाउने गरेका छन् । सो वडाले सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि पनि खानाको व्यवस्था गर्दै आएको छ ।

महानगरका प्रवक्तासमेत रहेका वडा नं.–१५ का अध्यक्ष ईश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए । ‘अहिले वडा नं.–१५ का भूँइखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भैरहेको छ,’ प्रवक्ता डंगोलले भने, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट पनि सुरु गर्ने तयारी भएको छ ।

महानगरको वडा नं. १६ अन्तर्गत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान, बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै, वनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दिरको प्रांगढ र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको छ ।

वडा नं.–१८ ले २ हजार र वडा नं.–२७ ले ३ हजार बढीलाई खाना खुवाएको छ । वडा नं.–५ ले पनि २ हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा नं.–८ ले पशुपति विकास क्षेत्र कोषसँगको समन्वयमा ५ सय बढीलाई खाना खुवाएको छ । कोटेश्वर समाज सुधार युवा क्लव, सेती ओपी क्लव कोटेश्वर लगायतसँगको समन्वयमा वडा नं.–३२ ले पनि ७ सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा नं.–२२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा १ सय बढीलाई खाना खुवाएको छ ।

 

 

Logo