दैलेखमा गाउँका पसल खुल्ला, भारतबाट आएकाहरु तास र मदिरामा मस्त

दैलेखमा गाउँका पसल खुल्ला, भारतबाट आएकाहरु तास र मदिरामा मस्त

केन्द्रबिन्दु
0
Shares

दैलेख ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेका छन् । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । उनले भने, “हामीले नगरका १० वटै वडाध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिनेछ ।”

यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताए । गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताए ।

साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । “हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए कारबाही गरिने छ”, उनले भने ।

भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको सट्टा स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताए । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उनको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ”, उनले भने ।

अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ का कर्णबहादुर कार्कीले बताए । “मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भिड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ”, उनले भने ।रासस

Logo