प्रदेश नं. २ : कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

प्रदेश नं. २ : कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

केन्द्रबिन्दु
0
Shares

सुनसरी ।

नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी हाल्ने चलन पनि छ । जुड शीत्तल बुढापाकाले आफ्ना सन्तानको शीरमा पानी छर्केर मनाउने गरिन्छ । यसबाट उनीहरु निरोगी र दीर्घजीवी हुने मान्यता छ ।

सुनसरीको पन्चाइनबाट चैत ३० गतेदेखि शुरु हुने सो मेला बैशाख १ गते इटहरी नगरपालिकाको उबधीमा, २ गते सुनसरीको चाँदबेलामा, ३ गते गढी गाउँपालिकाको गढीमा, ४ गते चरैयामा, ५ गते छिटहा र पचिरामा, ६ गते सुनसरीकै खनार नजिकै भुस्कुलवा हुँदै यो मेलामा महिनाभरि चल्दै चाँदबेलामा वैशाख २७ र २८ गते दुईदिन मेला लागेर विश्राम लिइन्थ्यो । स्थानीय ग्रामथानको पूजा हुने मेलामा अत्यधिक मानिसको भीड लाग्ने र भीडभाडले कोरोनाको सङ्क्रमण हुने भएकाले स्थानीय प्रशासनले रोक लगाएको हो ।

मेलामा विभिन्न व्यावसाय गर्ने मानिसले पनि पहिले नै पूँजी जुटाएर सामानहरु खरिद गर्ने र मेलामा बिक्री गरेर हजारौँ आम्दानी गर्दै आएका थिए । मेलामा हातमा मेहँदी लगाउने, जेरी तथा मिठाइ पसल सञ्चालन गर्ने, चिसो पेय पदार्थ बिक्री गर्ने गरिन्थ्यो । बालबालिकादेखि पाका उमेर समूहका मानिसहरु मेलामा घुमेको देखेर रमाइलो मान्ने र मानिसहरुबीच सम्बन्ध बढ्ने भएकाले तराईमा यसको बेग्लै महत्व रहेको सुनसरी चाँदबेलाका देवनारायण चौधरीले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले मेला लाग्दा भीडभाड बढ्ने भएकाले लकडाउनका अवधिमा कुनै पनि स्थानमा मेला लाग्न नदिइने जानकारी दिए । उनले सिरुवा पर्व परिवारभित्र मात्र मनाउन र कुनै पनि ठाउँमा भीड नगर्न आमनागरिकलाई अपिल पनि गरे । प्रजिअ पौडेलले लकडाउनको समयमा कुनै पनि नागरिक भारतबाट नेपाल प्रवेश नगरेको र रोक्नका लागि त्यस क्षेत्रमा सुरक्षा निकाय गम्भीर भएर लागेको स्पष्ट पारे ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले परम्परादेखि सिरुवा पर्वमा लाग्ने मेला यसवर्ष लाग्न नदिने र यसका लागि मेला लाग्ने स्थानको पहिचान गरी प्रहरी परिचालन गरिने जानकारी दिए ।रासस

Logo