बुलबुलेमा क्वारेन्टाइन बनाइँदै

बुलबुलेमा क्वारेन्टाइन बनाइँदै

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
कोभिड– १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा नेपाली सेनाले शनिबार सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण शुरु गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयमा ६ सय र रेडियो नेपालमा ४ सय श्यया क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ । नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणाले रेडियो नेपालको जग्गामा करेन्ट बिच्छ्याइएकाले क्वारेन्टाइनका लागि असम्भव रहेको जानकारी दिए । यसका लागि सेनाले पर्यटकीय स्थल बुलबुले उद्यानलाई रोजेको छ । ‘रेडियो नेपालको टावरमै नौ हजार भोल्ट करेन्ट छ, रेडियो फ्रिक्वेन्सीले पनि क्वारेन्टाइन निर्माण गर्न दिँदैन्’– पृतनापति राणाले भने–‘त्यसैले बस्तीदेखि टाढा भएको स्थान बुलबुले नै उपयुक्त देखिएको छ, आजदेखि नै बुलबुलेमै क्वारेन्टाइन निर्माणको काम शुरु गर्छौं ।’

वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्श निकालेको छ । नगर प्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोत साधन जुटाएमा एक सातामै एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ ।

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सिधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न शहरमा बसोबास गर्दै आएका नेपाली फर्कने क्रम बढ्दो छ । घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकामा स्वास्थ्य परीक्षण गरी शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।–रासस

Skip This
Skip This
Logo