प्रहरीको चेतावनी: अनावश्यक हल्ला फैलाए एक वर्ष जेल र १० हजार जरिवाना

प्रहरीको चेतावनी: अनावश्यक हल्ला फैलाए एक वर्ष जेल र १० हजार जरिवाना


काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी भ्रम फैलाउनेलाई नेपाल प्रहरीले चेतावनी दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै प्रहरीले कोरोना सन्त्रासबारे अनावश्यक अफवाह फैलाउन कार्य नगर्न चेतावनी दिएको हो ।

कसैले अफवाह फैलाउने कार्य गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रहरीले उल्लेख गरेको छ । ‘सामाजिक सञ्जालहरुमा विशेषत फेसबुक मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको त्यसका साथै अन्य केही पेज र फेसबुक ग्रुपहरुमा समेत त्यसै किसिमका व्यहोरा सहितको स्क्रिनसट र भिडियोहरु सम्प्रेषण भईरहेको भन्दै धेरै व्यक्तिहरुले हामीलाई जानकारी गराउनु भएकोमा त्यसका लागि यहाँहरु प्रति धन्यवाद व्यक्त गर्दछौं ।’ प्रहरीद्वारा जारी सूचनामा छ ।

यस्तो अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन् सक्ने प्रहरीले जनाएको छ । ‘सो सजायका अतिरिक्त विद्युतीय माध्यमको प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

काठमाडौँको नर्भिक अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको दाबी गरिएको एक भ्रामक अडियो सामाग्री सामाजिक सञ्जाल मार्फत भाइरल बनेपछि प्रहरीले यस्तो चेतावनी दिएको हो । यद्यपि नर्भिक अस्पतालले भाइरल बनेको अडियो गलत भएको जनाएको छ ।

अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आरपी मैनालीले उपचाररत कुनै पनि विरामीमा कोरोना भाईरसको लक्षण नदेखिएको स्पष्ट पारे । उनले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको स्पष्ट पारे ।

Logo