कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।
उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ ।
युवतीको शव फेला
जनकपुरधाममा आज एक युवतीको शव फेला परेको छ । जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् । बिहान घुम्न निस्केका मानिसले पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया