सिरहा ।
प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सिरहाका सबै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सकिँदा तीन हजार ७०९ छोरीको बिमा गरिसकिएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश २ को आठ वटै जिल्लाका स्थानीय तहमा छोरी शिक्षा बिमा शिविरहरु सञ्चालन गरेर छोरीहरुको बिमा गरिएको हो ।
सिरहाको १७ वटै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सञ्चालन गरिएको हो । सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बिमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । यसैगरी लहान नगरपालिकामा ४७२, मिर्चैया नगरपालिकामा २२०, सखुवानन्कारकट्टी गाउँपालिकामा १०४, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बिमा गरिएको छ ।
यस्तै गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२, लक्ष्मीपुर पतारी गाउँपालिकामा २४५, भगवानपुर गाउँपालिकामा १४२, नवराजपुर गाउँपालिकामा १२२ र सुखीपुर नगरपालिकामा २११ छोरीको बिमा गरिएको छ ।
०७५ माघ १ देखि जन्मिएका छोरीको बिमा गरिएको संयोजक विश्वकर्माले बताए । ०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीहरुको बिमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बिमा कार्यक्रमलाई अगाडि बढाइएको हो ।
रासस





























प्रतिक्रिया