ललितपुर ।
महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहेको जनाइएको छ ।
पक्राउ पर्ने लिम्बुसहित प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन् । उनीहरुलाई एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । उनले गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिए ।
छ लाखसहित १६ जुवाडे पक्राउ
नेपाल प्रहरीले छ लाख २५ हजार नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ । रासस





























प्रतिक्रिया