काठमाडौं ।
कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौं उपत्यकाका लागि खतरनाक रहेको छ। गणेशमानसिंह अध्ययन प्रतिष्ठानले बुधबार आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौं उपत्यकाको स्थिति भयावह हुने बताए।
कार्यक्रममा सहभागी श्वासप्रश्वास सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताए। वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे।
काठमाडौंमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुने क्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ।
समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिए। वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उनले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गरे।
धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए। वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा ढुङ्गानाले जानकारी दिए।
नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए। सहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनु पर्ने लगायत कुरामा उनले जोड दिए।
वातावरण विज्ञ भूषण तुलाधरले डेढ दशक अघि भक्तपुर र ललितपुरका बासिन्दाले इँटाभट्टा बन्द गर्नुपर्ने मागसहित गरेको अन्दोलन जस्तै फेरि वायु प्रदूषण कम गर्न सचेत हुनुपर्ने बताए । सरकार र नागरिक मिलेर अभियान सञ्चालन गर्न सके वायु प्रदूषण घट्दै जाने उनको भनाइ थियो। इँटाभट्टा बन्द भएपछि भक्तपुरमा वायु प्रदूषणमा डेढ दशक अघि २४ प्रतिशतले सुधार आएको तुलाधरले स्मरण गरे।
वायु प्रदूषण कम गर्नका लागि काठमाडौं उपत्यकाका जनता जाग्नुपर्ने बेला आएको तुलाधरले उल्लेख गरे। तुवाँलो लाग्दा वायु प्रदूषण बढी तथा घाम लाग्दा कम हुने भ्रममा अधिकांश रहेको उल्लेख गर्दै उनले उपत्यकामा जुनसुकै बेला पनि वायु प्रदूषण बढ्दै गएको उनको भनाइ थियो।
उपत्यकामा २० बर्से सवारी साधनको विकल्प खोज्न उनले सरकारसँग माग गरे। सबैभन्दा बढी यातायातका साधनका कारण वायु प्रदुषण बढेको तुलाधरको भनाइ थियो।
सडकमा पैदल हिँड्ने सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै उनले न्यून आम्दानी भएका, वृद्धवृद्धा र बालबालिकाको ज्यान वायु प्रदूषणका कारण खतरामा परेको बताए। पूर्वप्रशासक डा सुधा शर्माले प्रदूषण कम गर्न सन्धिमा मात्र ध्यान दिएको तर त्यसको कार्यान्वयनतर्फ चासो नदिँदा वायु प्रदूषण अब सबैभन्दा बढी खतरनाक बन्दै गएकामा चिन्ता व्यक्त गरिन्।
देशभरका स्वास्थ्य संस्थामा नै बढीजसो फोहर पदार्थ रहेको र त्यसको उचित ढङ्गले बिर्सजन गर्न नसक्दा जोखिम बढेको उनको भनाइ थियो। अन्य क्षेत्रमा जस्तै वायु प्रदूषणबाट पनि महिला बढी प्रभावित भएको शर्माले बताइन्। दाउरा प्रयोग गर्दा भान्साबाटै बढी वायु प्रदूषण हुने भएको र महिला चुलोचौकोमै सीमित रहँदा धुवाँबाट बढी आर्जित भएको उनको भनाइ थियो। शहरीकरणले तीव्रता पाएपछि वायु प्रदूषण झन धेरै बढेको उनको भनाइ छ।अन्नपूर्णबाट































प्रतिक्रिया