काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
उनीहरू विरूद्ध आजै विशेष अदालतमा मुद्दा लगेको अख्तियारले जनाएकाे छ । विशेष अदालतमा पेश भएको अभियोगपत्रका अनुसार, ललिता निवासको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्नेमा पूर्वमन्त्री गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्।
यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिवको हैसियतमा मुद्दा चलाएको हो। पूर्वसचिव दिनेशहरि अधिकारी पनि यो मुद्दामा मुछिएका छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश विनोद गौतमलाई पनि मुद्दा चलाइएको छ। उनलाई पूर्वउपसचिवको हैसियतमा मुद्दा चलाइएको हो।
भूमाफिया भनेर चिनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित व्यापारी मिनबहादुर गुरूङलाई पनि अख्तियारले मुद्दा चलाएको छ। बालुवाटार जग्गा आफ्नै नाममा ल्याउन नक्कली मोही खडा गरेको आरोप यिनीहरूमाथि छ।
सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलको नाम यो जग्गा प्रकरणमा जोडिएको भए पनि अख्तियारले तय गरेको १ सय ७५ जनाको सूचीभित्र परेको छैन।
१ सय १० जनाको जग्गा जफत सहित कारवाहीको माग गरिएको छ भने ६५ जनाबाट जग्गा फिर्ता लिने मागदावी मुद्दामा गरिएको छ।
सबैभन्दा धेरै मागदावी भाटभटेनी सुपरमार्केटमाथि गरिएको छ। सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ। त्यसपछि शशीकान्त ढकालमाथि ४९ करोड २७ लाख ६८ हजार रुपैयाँको मागदावीसहित मुद्दा दायर भएको छ।
त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदावी गरिएको छ।





























प्रतिक्रिया