९ कराेड अकुत सम्पत्ति कमाएकाे अभियोगमा पियनविरुद्व मुद्दा दायर

९ कराेड अकुत सम्पत्ति कमाएकाे अभियोगमा पियनविरुद्व मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै पाैने १० करोड अकुत सम्पत्ति थुपारेको भन्दै  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

१९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ति गैरकानुनी भएको अदुअआको अनुसन्धानबाट खुलेको छ ।

बस्नेतको तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै वैधानिक भएको अदुअआको निश्कर्ष छ ।

मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरेर राजस्व दाखिला नगरेको अभियोगमा बस्नेत पक्राउ परेका थिए । ११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो ।

बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारले बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

Skip This
Skip This
Logo