पाँचखालकी तुलसा कार्की भन्छिन्, ‘कसैको सहयोग पाए हात राख्न सकिन्थ्यो कि !’

पाँचखालकी तुलसा कार्की भन्छिन्, ‘कसैको सहयोग पाए हात राख्न सकिन्थ्यो कि !’

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी-

हामी आफूसँग जे छ त्यसको ‘भ्यालु’ कम झैँ लाग्छ । तर, जब हामीमा त्यही कुरा हुँदैन बल्ल त्यसको महत्व महसुस हुन्छ ।

जो मान्छे आफ्नो साथमा रहिरहन्छ तवसम्म उसको महत्व कम झैँ लाग्छ, उनको महत्व भन्दा उनीप्रतिको गुनासो बढी हुन्छ । तर, जब उनी टाढिन्छ तब मात्र उनको अभाव भयङ्कर सावित भइदिन्छ । तर, त्यतिबेलासम्म समय घर्किसकेको हुन्छ । पछुतो त केवल पछुतो मात्रै हो । त्यसैले त भनिन्छ नि, पछुतोको न उपचार हुन्छ न त क्षतिपूर्ति नै ।

दायाँ औंलामा घाउ  हुँदा बरू बायाँ औंलामा घाउ भए हुन्थ्यो नि भने झैँ लाग्छ जब दायाँ औंलामा घाउ हुन्छ अनि मात्र त्यस्तो पीडा महसुस हुन्छ । तर, ती औंला र हात नै नहुनेहरूले कसरी जीवन चलाइरहेका होला ?  यस्तै जीवनशैली बिताइरहेकी चेली हुन् तुलसा कार्की ।

 

तुलसा कार्की काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाकी -३ स्थायी वासिन्दा हुन् । जन्मदैदेखि उनमा केही शारीरिक कमजोरी देखिए । उनका दुवै हात त छन् तर फरक खालका । छोटा हात त्यो पनि ३ वटा औंला मात्र । यस्तो अवस्था भएपछि उनलाई मानव जीवनमा गर्नु पर्ने सबैखाले क्रियाकलापका लागि असहज भयो । तर पनि जिन्दगी जिउनु त छँदै छ । संघर्ष पनि उस्तै छ ।

यहाँ सग्ला हातगोडा हुनेहरूका लागि त हरेक समस्या छन् भने समाजले अपांगता नागरिकलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले निकै समस्या हुने गरेको हामीले देखे सुनेकै हो । तुलसालाई पनि त्यही समस्या छ । एकातिर घरको आर्थिक अवस्था कमजोर, अर्कातिर आफ्नो शारीरिक अवस्था कमजोर भएपछि उनलाई हरेक समस्याहरू आए । अझै ०६१ सालमा बुबा कर्णबहादुर कार्कीको क्यान्सरका कारण निधन भएपछि झन ठूलो बज्रपात प¥यो । त्यतिबेला परिवारको आर्थिक अवस्थाकै कारण उनले गाडीहरूको पछिपछि दगुर्दै माग्नु परेको तीतो सम्झना तुलसाको मानसपटलबाट अहिलेसम्म हट्न सकेको छैन ।

जीवनका २५ वर्ष पार गरिसक्दा तुलसाले अनगिन्ती संघर्षहरू गरेकी छिन् । अहिले परिवारमा आमाका साथमा छिन् उनी । तर आमा पनि बिरामी । अहिले विरामी आमाको उपचारका लागि पनि उनले अरूको सहयोग माग्नु परेको छ । हुन त परिवारका सदस्य अरू पनि छन् तर सबै आआफ्नै तरिकाले छुट्टा छुट्टै बसेका छन् । आमाको सहारा भएकी तुलसाले पनि धेरैजसो काम गर्न अरुको भर पर्नु परेको छ ।

अरूको सहयोगमा लेखेर पनि तुलसा पाँचखालमै रहेको सर्वमंगला बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । तुलसालाई कसैले सहयोग गरे त हुन्थ्यो भन्ने लाग्छ तर अरूले दिने केही पैसाको सहयोगले सधैंभर नचल्ने उनले बुझिन् । तर पनि अर्को विकल्प छैन, रोजगारी पनि छैन । यही कारण समस्यामा छिन् तुलसा ।

काम गर्न समस्या त हुन्छ तर पनि उनी प्रयास गर्छिन् । हातले साथ दिदैंनन् तैपनि मोबाइल चलाउँछिन् । भाँडा माझ्छिन्, लुगा पनि धुन्छिन् । हातमा पेन्सिल अड्याएर चित्र बनाउने प्रयास गर्छिन् । तर परीक्षामा भने अरूले लेखिदिनु पर्छ । लेखिदिने मान्छे सधैं पाइँदैन, यो समस्या पनि उनलाई छ । शौचालय जाँदा, केही सामान उचाल्नु पर्दा तथा अधिकांश काममा उनले सधैं नै दुःख झेल्नु परेको छ ।

समाजले अपांगता भएका नागरिकलाई हेर्ने दृष्टिकोण अझै साँघुरो भएको तुलसाको भोगाइ छ । राज्यले पनि आफूहरूका समस्यालाई वास्ता नगरेको उनले गुनासो गरिन् ।

कृत्रिम हात राख्न सकिन्छ कि भनेर तुलसाले केही ठाउँमा चहारिन् तर नेपालमा यसको सम्भावना नभएको र विदेशमा गएर पनि थुप्रै खर्च लाग्ने बुझेपछि उनको रहर रहरमै सीमित भएको छ । आफूले गर्न सक्ने केही काम पाए परिवारका लागि र आफ्नो पढाइ खर्च जुटाउन सकिन्थ्यो कि भन्ने उनलाई लाग्छ ।

फेरि टोलाउँछिन्– ‘कसले सहयोग गर्ला र ?’

घरमा केही बाख्रा पालिएका छन् । हिजोआज उनी तिनै बाख्रा चराउन जान्छिन् । यत्तिको भरमा सधैं चल्न सकिँदैन ।

कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने आशा गरेकी तुलसा भन्छिन्, भगवानले त सबैलाई समानता दिदैंनन् मानिसले के गर्न सक्छन् र ? तैपनि दयावान् मानिस पाइए तिनै मान्छे भगवान समान हुने उनको आशा छ ।

तुलसालाई सहयोग गर्न चाहना छ भने उनको मोबाइल नम्बर ९८०३२६७६१५ मा सम्पर्क गर्न सकिनेछ ।

Logo