काभ्रे ।
पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर शनिबार अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दिउँसो करीब पौने चार बजे पोखरीमा डुबेकी कृष्टिनालाई उनकी आमाले उपचारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा पु¥याए लगत्तै मृत घोषणा गरिएको हो ।
यसैगरी पाँचखालबाट धुलिखेल आउँदै गरेको बा ८५ प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी २३ वर्षका प्रदीप श्रेष्ठको शनिबार दुर्घटनामा मृत्यु भएको छ । सोही दिशाबाट आइरहेको बा ४ ख ११४५ नं.को टिपरले अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठक्कर दिँदा गम्भीर घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
दुर्घटनामा टाउको र कम्मरमा गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सोलु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
रासस





























प्रतिक्रिया